© २०२३
विश्वका शक्तिशाली राष्ट्रहरू आफ्नो ऊर्जा धर्म, राजनीति वा व्यक्तिवादमा होइन, प्रविधि र उत्पादक प्रतिस्पर्धामा खर्च गर्छन् । उदाहरणका रूपमा चीनलाई लिन सकिन्छ ।
त्यहाँका नागरिकहरू प्रायः नास्तिक छन्, त्यसैले धर्मका नाममा झगडा हुँदैन । (म नास्तिक हुँदै होइन तर धर्म नमान्नुहोस् पनि भन्दिनँ) । उनीहरूको ध्यान राजनीति भन्दा पनि आविष्कारमा केन्द्रित हुन्छ । कसैले भन्छ– “म मेरो उत्पादन नेपालसम्म पु¥याउँछु ।”
अर्काले उत्तर दिन्छ–“म त यही उत्पादन पूरै एसियामा बिक्री गर्छु ।” अर्को आफ्नो उत्पादन विश्व बजारमा पु¥याउने आँट गर्छ । त्यही हो स्वस्थ प्रतिस्पर्धा जसले राष्ट्रलाई अग्रगमन गराउँछ । तर, नेपालमा परिदृश्य ठिक विपरीत छ । यहाँ विकासभन्दा बहस ठुलो विषय बनेको छ ।
चिया चौतारो, सामाजिक सञ्जाल र टिकटक समूहहरूमा दिनभरि यही कुरा हुन्छ । फलानो नेताले देश बेच्यो, फलानो देशको गुप्तचर हो, फलानो दल देशद्रोही हो । तर, जब देश बनाउने सवाल आउँछ, तब त्यो बहस मौन बन्छ ।
मिडियाले पनि सनसनी र आक्रोशलाई प्राथमिकता दिन थालेको छ । कसले कसलाई भेट्यो, कसले कसको घरमा गयो– त्यही विषयले हेडलाइन पाउँछ । तर, कसैले नयाँ प्रविधि विकास ग¥यो, गाउँमा बिजुली पु¥यायो, दुर– दराज गाउँको युवकले आफ्नै हात र सीपले उत्पादन गरेको स्याउको, आफ्नै गाउँमा सिँचाइको आयोजना सुरु ग¥यो, त्यो समाचार मौन रहन्छ ।
हाम्रो समस्या राजनीति होइन, मानसिकता हो । हामी हरेक कुरा ‘कसले गरेन’ भन्ने दृष्टिले हेर्छौँ, तर ‘मैले के गर्न सक्छु’ भन्ने सोच राख्दैनौँ । देशका युवाहरूले रोबोट बनाउने, जैविक मल उत्पादन गर्ने, वा कृत्रिम बुद्धिमत्तामा नयाँ आविष्कार गर्ने प्रतिस्पर्धा गर्नुपर्ने हो तर उनीहरू सामाजिक सञ्जालमा गालीगलौज र आरोप–प्रत्यारोपको भिडन्तमा रमाइरहेका छन् ।
नेता त हामीले घर–घरमा जन्माएका छौँ तर जनता गुमाएका छौँ । विचार धेरै छन्, तर कर्म छैन । यही कारण हो– नेपाल अझै दिशाहीन यात्रामा छ । अब दोष होइन, दृष्टि बदल्ने समय आएको छ । राजनीति होइन, उत्पादक प्रतिस्पर्धा आवश्यक छ ।
धर्म होइन, कर्ममा आस्था जरुरी छ । हामीले ‘कसले देश बेच्यो’ भन्दा बढी सोच्नुपर्छ– ‘मैले देशका लागि के गर्न सक्छु ? राष्ट्र त्यति बेला मात्र अघि बढ्छ, जब नागरिकहरू बहसमा होइन, योगदानमा रमाउँछन् ।