© २०२३
बुटवल, २८ कार्तिक ।
नेपालमा भवन निमार्णमा माटोको इट्टा र सिमेन्टको ब्लकको सट्टा भूकम्प प्रतिरोधक एएसी ब्लकको प्रयोग बढ्न थालेको छ ।
भूकम्प प्रतिरोधी र न्युन लागतको कारण एएसी ब्लकको बजारमा माग बढेको हो । घर निर्माण थालेका बुटवलका सचिन श्रेष्ठले एएसी ब्लक प्रयोग गर्नुभएको छ । नयाँ प्रविधिबारे सुरमा अन्योल रहे पनि प्रयोगपछि आफूले धेरै फाइदा पाएको अनुभव उहाँले साझा गर्नुभयो ।
श्रेष्ठका अनुसार एएसी ब्लकको कम तौल, बालुवाको आवश्यकता नपर्ने, जोडाइमा कम सिमेन्ट प्रयोग हुने, जोडाइपछि पानी सिँचाइ गर्न नपर्ने तथा कुल लागत कम हुनेजस्ता विशेषताले आफूलाई आकर्षित गरेको हो ।
उनले भने, “यी फाइदाका कारण मैले घर निर्माणमा एएसी ब्लक प्रयोग गर्ने निर्णय गरेँ, र वास्तवमै यो ब्लक निकै उपयोगी रहेछ ।” उनका अनुसार संरचनागत हिसाबले हलुका, भूकम्प प्रतिरोधी र वातावरणमैत्री भएकाले एएसी ब्लक आधुनिक निर्माण सामग्रीका रूपमा उपयोगी रहने विश्वास छ ।
बिहीबार कम्पनीद्वारा बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कम्पनीका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले यो ब्लक नेपालमा भित्रिएकै एक दशक भएको बताए । भारतमा तीन दशक र युरोपमा शताब्दी पुरानो भएको बताए ।
लुम्बिनी प्रदेश क्षेत्र एवं पश्चिम नेपालमै पहिलो पटक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ भलवाडीमा स्थापित नेपाल एएसी ब्लक उद्योगले गत तीन वर्ष देखि आफ्नो उत्पादन बजारमा ल्याएको छ । ठुला ठुला बिल्डिङहरूमा यसको प्रयोगबाट निमार्ण गरिदा लोड कम हुने भएकोले उपयोगी मानिन्छ ।
हाल कम्पनीको ६५ सिभिएम (क्युबिक मिटर) प्रतिदिन उत्पादन गर्ने क्षमता रहेको छ । ६ हजार पिस ४ ईन्च, ६ इन्चको ४ हजार पिस, ८ इन्चको ३ हजार उत्पादन क्षमता छ । भारतबाट पहिले भित्रिने गरेको थियो तर नेपालमा नै उत्पादन सुरु भएपछि यसको माग बढेको हो ।
२०७२ सालमा नेपालमा आएको भूकम्पमा धेरै धनजनको क्षति भएपछि नेपालमा भूकम्प प्रतिरोधक एएसी (अटोक्लेभ्ड एरीएटेड कंक्रिट) ब्लक उद्योग स्थापना हुने क्रम पनि बढेको छ ।
जर्मनी प्रविधिबाट उत्पादित यो ब्लकको वजन हलुका हुनुको साथै निर्माण गरिने भवन तथा पर्खाल मजबुत हुने र संरचनाको भार जमिनको सतहमा समानुपातिक रूपमा पर्ने हुँदा भूकम्पीय क्षति कम हुने कम्पनीका सेल्स म्यानेजर दीपक भट्टराईले बताए ।
पछिल्लो समयमा उपभोक्ताले यसको प्रयोग रुचाएको एवं प्रयोग बढ्दै गएको उनले बताए । रातो इट्टाको विकल्पमा निर्माण लागतमा १० देखि १५ प्रतिशतसम्म लागत कम हुन्छ । वार्षिक २० करोड रुपैयाँ कारोबार हुँदै आएको र ५० जनाले रोजगार पाएका छन् ।
लुम्बिनीसहित सुदूरपश्चिम, गण्डकी, कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा यहाँको उत्पादन जान्छ । हलुका वजन, ध्वनि प्रतिरोधक, निर्माणमा छिटो छरितो, ओस प्रतिरोधक, अग्नि प्रतिरोधक र वातावरण मैत्री आदी एएसी ब्लकका विशेषता भएको उनले बताए ।
आवासीय, व्यापारिक, औद्योगिक, कार्यालय, पर्खाल, अस्पताल, विद्यालय एवं महाविद्यालय, विशेष प्रकारका थिएटर जस्ता ठूल्ठूला भवन निर्माणमा यो ब्लक प्रयोग गर्न सकिन्छ । नेपालमा हाल ७ वटा फैक्ट्री रहेको छ ।