© २०२३
लमही, ७ पुस ।
दाङको गढवा गाउँपालिकाको शिक्षा शाखाले पालिकाभरका सरकारी बिद्यालयका प्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु र शिक्षा सरोकारवालाहरुको भेला गर्यो । गत साउन ५ गते भएको भेलामा पालिकाभरका बिद्यालयहरुको जग्गा आफ्नो नाममा नभएका कारणले बिद्यालयहरुलाई समस्यामा पारेको बिषयमा छलफल भयो ।
बिद्यालयको नाममा लालपुर्जा नभएका कारण संघ र प्रदेश सरकारबाट प्रकाशित हुने सूचनाका लागि प्रस्तावना पेश गर्न कठिनाई भएको भेलामा बृहत छलफल भएको थियो । भेलाले जनता माध्यमिक बिद्यालयका अध्यक्ष युवराज पोखे्रलको संयोजकत्वमा ९ सदस्यीय सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समिति गठन गर्यो । सो समितिले निकै गहिराईमा पुगेर ठिक ५ महिना अवधिमा २५ विद्यालयहरुको कुल ९१ बिगाह ७ कट्ठा ८ घुर जग्गा ब्यवस्थापन गरी काम सकाएर पालिकाको सभाहलमै पत्रकार सम्मेलन गरी आफूले गरेका कामहरु सार्वजनिक गरेको छ । सामुदायिक विद्यालय जग्गा ब्यवस्थापन समितिले मालपोत कार्यालय लमही दाङमा जग्गा सूचीकरण गरेको वैधानिक प्रमाण गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रललाई हस्तान्तरण समेत गरेको छ ।
जग्गा ब्यवस्थापन नभएका कारण भौतिक पूर्वाधारका लागि समस्या थियो । पूर्वाधारको अन्तरसम्बन्ध बिद्यालयको गुणस्तरसंग जोडिएको हुन्छ । विद्यालयहरुको जग्गा मालपोतमा अभिलेखीकरण भएपछि अब ठूलो आधार भएको छ ।
लालपूर्जा प्राप्तिका लागि गाउँपालिकाबाट क्याबिनेट सम्मको पहल गर्ने छौं । जग्गा ब्यवस्थापन समितिले उदाहरणीय र ऐतिहासिक काम गरेको भन्दै गाउँपालिकाका अध्यक्ष पोख्रेलले धन्यवाद दिए । “अब हामी यसैगरी नै भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्ने छौं”–गाउँपालिकाका अध्यक्ष पोखे्रलले भने ।
समितिले मालपोत कार्यालयमा सुचीकृत गरेका जग्गाहरुमा आधारभूत बिद्यालय वनघुस्रीको नाममा ५ बिगाह १६ कट्ठा ४ धुर, आदर्श प्रावि बडहराको नाममा ७ बिगाह ६ कट्ठा ४ धुर, माध्यमिक विद्यालय पचहियाको नाममा १२ कट्ठा, रात्री प्रावि पचहियाको नाममा १५ कट्ठा, नमूना प्रावि महदेवाको नाममा ५ कट्ठा, आदर्श रात्री आबि गोवरडिहाको नाममा २ बिगाह ९ कट्ठा, सरस्वती प्रावि सुपैलाको ३ बिगाह र कालिका प्रावि पर्सेनीको नाममा १५ कट्ठा जग्गा मालपोत कार्यालयमा सुचीकृत गरिएको जग्गा ब्यवस्थापन समितिले जानकारी दिएको छ ।
यसैगरी मदरासा अहले सुन्नत दारुसलामको नाममा ३ कट्ठा ९ धुर, प्रावि खजरौटाको नाममा २ बिगाह १० कट्ठा, आधारभूत विद्यालय कक्रहवाको १ बिगाह १० कट्ठा, मावि चैनपुरको १ बिगाह, बालकल्याण अहाधारभूत विद्यालयको नाममा २ बिगाह १० कट्ठा, मदरसा रामपुरको नाममा ३ बिगाह १० कट्ठा, जनता माध्यमिक बिद्यालय गढवाको नाममा ४१ बिगाह ३ कट्ठा ६ धुर, सरस्वती मावि चन्दनपुरको नाममा ४ बिगाह ३ कट्ठा १६ धुर, ज्ञानज्योति प्रावि मानपुरको १५ कट्ठा, उदय प्रावि मुसीनाकाको नाममा १५ कट्ठा, महशेन्द्र आबि कोइलाबासको नाममा २ बिगाह, दुर्गा प्रावि खबरीनाकाको १० कट्ठा, जनमुखी आबि रङ्सिङको नाममा १५ कट्ठा, गणेश प्रावि चिमचिमेको नाममा ८ कट्ठा, सर्वोदय प्रावि गढवाको नाममा १ बिगाह १० कट्ठा र बालबुद्धि प्रावि खबरीखुटीको नाममा १ बिगाह १० कट्ठा जग्गा मालपोत कार्यलयको अभिलेखमा सुचीकृत गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
गढवा गाउँपालिकाका बाँकी ४ विद्यालयहरु जनता मावि कालाकाटे, रत्न प्रावि, दिपेन्द्र होमजून मावि र सरस्वती मावि गोबरडिहाको जग्गा सम्बन्धी कुनै समस्या नदेखिएको समितिले बताएको छ । जग्गा ब्यवस्थापन समितिमा संयोजक युवराज पोखे्रल र सदस्यहरुमा हुमाकान्त सुवेदी, रामसुरत यादव, हेमन्त चौधरी, गोबिन्द केसी, चित्रबहादुर रावत, अतिउल्ला मनिहार, सुब बहादुर कुमाल र राधेश्याम थारु कुमाल रहेको गढवा गाउँपालिका शिक्षा प्रमुख श्याम बिकले जानकारी दिए ।