© २०२३
बुटवल, ६ पुस ।
न्यु होराईजन मावि बुटवलको आयोजनामा उन्तिसौं संस्करणको ‘प्रदेश स्तरीय न्यु होराईजन हाजिर जवाफ प्रतियोगिता’को तयारी पुरा भएको छ । यही पुस ९ गते शनिवारदेखि प्रदेशका ३ जिल्लाका विभिन्न ३ स्थानमा आयोजना हुने माध्यमिक तह १० कक्षा सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगिताको सबै तयारी पुरा भएको विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले जानकारी दिए ।
पाल्पा जिल्लाको न्यू होराईजन मावि काजिपौवा पाल्पामा गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाका विद्यालयहरुको सहभागितामा प्रतियोगिता हुँदैछ भने शनिवार नै दाङ्ग जिल्लामा दाङ, प्यूठान, रोल्पा, बार्दिया, बाँके जिल्लाका विद्यालयको सहभागितामा मन्त्र गेष्ट हाउस अर्नवामा प्रतियोगिता हुने छ ।
यस्तै बुटवल केन्द्र अन्तर्गत रुपन्देही, नवलपरासी, कपिलवस्तु सहितका जिल्लाहरुको सहभागितामा बुटवलमा प्रतियोगिता हुने छ । यसरी ३ वटा स्थानबाट छनौट भएका २–२ वटा टिमको फाईनल प्रतिस्पर्धा यही पुस १५ गते कालिकानगरमा रहेको न्यु होराईजन माविमा हुने प्रधानाध्यापक उपाध्यायले जानकारी दिए ।
यसरी केन्द्रमा प्रथम, द्वितीय र तृतीय हुने सहभागी विद्यालय प्रथमले ६ हजार, द्वितीयले ४ हजार ५ सय, तृतीयले ३ हजार नगद पुरस्कार समेत पाउने छन् । पुस १५ गते हुने फाईनल प्रतिष्पर्धामा केन्द्रबाट सहभागी प्रथम र द्वितीय ६ वटा टिमको बीचमा बुटवलमा प्रतिष्पर्धा हुने छ । जसबाट प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीय टिमले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने विद्यालयले जनाएको छ । प्रतियोगितामा प्रदेशभरीबाट करिव १ सय ५० भन्दा बढी विद्यालयहरुको सहभागिता हुने प्रतियोगिता संयोजक गणेश भण्डारीले जानकारी दिए । न्यु होराईजन मावि बुटवलका उप प्रधानाध्यापक बासुदेव अर्यालका अनुसार विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी एक जना छात्रा सहित विद्यालयका ३ जना विद्यार्थीहरु सहभागी हुनेछन् ।
होराईजन माविका कुनै पनि विद्यार्थी यो प्रतियोगितामा सहभागी नहुने उप प्रधानाध्यापक बालकृष्ण भण्डारीले जानकारी दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर कसजुले होराईजनका विद्यार्थीहरुलाई हरेक कक्षामा क्वीजमा प्रथम हुनेलाई विशेष छात्रवृत्ति समेत प्रदान गर्ने गरी कार्यक्रम गरिएको जनाकारी दिए ।