© 2026
दाङ, २५ कात्तिक ।
भारतबाट अवैध रुपमा चोरी पैठारी गरी भन्सार छली ल्याएको २८ बोरा चिनी सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले चेकिङ गर्ने क्रममा कपिलवस्तुबाट प्युठानतर्फ जाँदै गरेको मिनी ट्रकबाट चिनी बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता एवं सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार लु प्र ०१–००१ ख ००५८ नं. को मिनी ट्रकलाई जाँच गर्ने क्रममा प्रतिबोरा ५० किलो र प्रति केजी मूल्य अन्दाजी एक सयका दरले एक लाख ४० हजार रुपैयाँ बराबरको चिनी प्रहरीले बरामद गरेको हो ।
यसै गरी मिनी ट्रकको मूल्य अन्दाजी २५ लाखसहित जम्मा २६ लाख ४० हजार बराबरको ट्रक र चिनी आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।