Butwal Today

ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा

२५ कार्तिक २०८२, मंगलवार
अ+
अ-

बाँके, २५ कार्तिक ।

पश्चिम नेपालको एक मात्र कान सम्बन्धी अस्पताल रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले प्रत्येक वर्ष गरिब, असहाय, निमुखी, आर्थिक स्तर कमजोर भएकाहरूको लागि निःशुल्क कान शिविरको आयोजना गर्दै आइरहेको छ ।

विगतदेखि देश भित्र विभिन्न जिल्लाहरूमा वार्षिक निःशुल्क शिविरसमेत आयोजना गरिँदै आइएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ६६ वटा शिविर आयोजना गरेर ७ हजार ६ सय ५६ जना कानका बिरामीहरूले सेवा लिएका थिए ।

सोही अनुसार  आर्थिक वर्ष २०८२/०८३ मा निःशुल्क शिविर सङ्ख्या बढाएर ७० वटा सम्म आयोजना गरिने र करिब ८ हजार ४ सय कानका बिरामीहरूलाई निःशुल्क सेवा दिइने लक्ष्य राखिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका प्रबन्धक चेत नारायण चौधरीले बताए ।

यो वर्षका लागि मङ्सिर १गते देखि सञ्चालन गरिने प्रबन्धक चौधरीले बताए ।  शिविरमा सहभागिताको लागि मङ्सिर १ गते नाम दर्ता तथा सोही दिन चेकजाँच गरिने छ भने चेकजाँचको क्रममा जटिल बिरामीहरूको लागि मङ्सिर ३, ४ र ५ गतेसम्म अप्रेसन गरिने ब्रिनोजका प्रबन्धक चेतनारायण चौधरीले बताए ।

प्रबन्धक चौधरीका अनुसार निःशुल्क आयोजित शिविरको सम्पूर्ण व्यवस्थापन अस्पताल प्राङ्गणबाट नै हुनेछ । गरिब, आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको चेकजाँच गरी अप्रेसन गर्नुपर्दा वडाबाट ल्याइएको सिफारिसको आधारमा अन्य बेलामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

हाल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा अस्पतालले मासिक ४ हजार बिरामीहरूको चेकजाँच गर्ने गरेका तथ्यले देखाई रहेको छ । जसमा ३४ प्रतिशत भारतीय कानका बिरामीहरू आउने गरेका हुन्छन् भने बाँकी ६५–७० प्रतिशत कानका बिरामीहरू बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट लगायत जिल्लाहरूबाट सेवा लिन आउने गरेको प्रबन्धक चौधरीले बताए ।

निःशुल्क शिविर बाहेकका दिनहरूमा गरिब आर्थिक अवस्था कमजोरहरूलाई वडाको सिफारिस लिएर आएको बेला ब्रिनोजबाट ५० प्रतिशतसम्म छुट दिइने व्यवस्था समेत रहेको प्रबन्धक चौधरीको भनाई छ ।

ब्रिनोजबाट हाल ओपिडी, ल्याब, हेरिङ्ग हेड, अडियो ग्राम, अप्रेसन (मेजर/माईनल), फर्मेशी सेवा दिनुका साथै सम्पूर्ण औषधीहरू समेत उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रबन्धक चौधरीले बताए ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाबाट उपलब्ध हुने सेवाहरू मध्ये कानको जाली (टिम्पानोप्लाष्टी) सम्बन्धी सामान्य अपरेसन गर्नु पर्दा औषधीलगायत चेकजाँचसम्मको करिब २० हजार खर्च लागत लाग्ने हुन्छ भने त्यस अतिरिक्त कानको हड्डी खाने रोग (एम.आर.एम.) लागेको बिरामीको लागि करिब ३० हजार खर्च लाग्ने गरेको प्रबन्धक चौधरीले बताए ।

उनले दिएको जानकारी अनुसार प्राथमिक कान उपचार शिविरमा चेकजाँच गराएको बिरामीहरूले अस्पतालबाट अपरेसन हेरिङ्ग हेडमा १० प्रतिशत छुटको व्यवस्था रहेको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?