© २०२३
बुटवल, ६ पुस ।
पुर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभाका सदस्य लिला गिरिले समुदाय र राज्यले शिक्षामा ठुलो लगानी गरिरहे पनि शिक्षा क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताएका छन् । यसो हुनुमा नीतिगत, राजनैतिक र प्रशासनिक कमजोरी भएको उनको भनाई छ । कालिका मानवज्ञान माविको ६२ औ वार्षिकोत्सवको अवसरमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा गिरिले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै सभाषद गिरिले समाजका आवश्यकता र आशाहरु धेरै भएको र यी आवश्यकता र आशाहरु पूरा गर्नका लागि रुपन्देहिका केही सामुदायिक विद्यालयहरुले पनि आशालाग्दा कामहरु गरेर देशमा शिक्षा क्षेत्रको लागि उदाहरण प्रस्तुत गरेकोमा प्रशंंसा गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयका अवसर र चुनौतीहरुको चर्चा गर्दै तीनै तहका सरकारहरुको सहयोग, अभिभावकको साथ र विश्वास अनि शिक्षकहरुको लगनशिलताबाट कालिकाले शिक्षा क्षेत्रमा आशालाग्दो गोरेटो कोर्न सकेको बताए । कार्यक्रममा रामचन्द्र क्षेत्री, होम बहादुर गलामी, यमुना काउचा, लोकराज घिमिरे लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
उक्त कार्यक्रममा विद्यालयमा स्थापित ५५ वटा अक्षयकोषबाट १३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालयको ६२ औं वार्षिकोत्सब मूल समारोह पुस ७ गते हुने र उक्त कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मान, शिक्षा पत्रकारिता पुरस्कार वितरण तथा दोश्रो कालिका रनिङ शिल्ड विजेता विद्यालयलाई शिल्ड प्रदान गर्ने लगायतका कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।