Butwal Today

पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता !

२५ कार्तिक २०८२, मंगलवार
अ+
अ-

समाचार सारांशमा


  • पृथ्वीचन्द्र जिल्ला अस्पतालमा करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको आरोप ।

  • अस्पतालको नयाँ भवनमा करिब १४ करोडको योजना अन्तर्गत २ करोडभन्दा बढी लिफ्टमा खर्च ।

  • अस्पतालले ६० लाख मूल्य बराबरको अत्याधुनिक एक्स–रे मेसिन खरिद गरेको तर दाखिला भएदेखि नै सञ्चालनमा ल्याउन नसकेको ।


नवलपरासी, २५ कार्तिक । 

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा करोड बढीको अनियमित कार्य भएको आरोपबारे अस्पताल आन्तरिक अनुसन्धानमा लागेको छ ।

विगतका अस्पताल व्यवस्थापन तथा प्रशासनद्वारा भएका अनियमितताबारे वास्तविकता पत्ता लगाउनका लागि आन्तरिक अनुसन्धान भई रहेको अस्पतालले जनाएको हो ।

अस्पताल अनियमिततामा व्यवस्थापन, प्रशासन मात्रै नभई मन्त्रालय तथा निर्देशनालयसम्म पहुँचले भएको अस्पतालका कनिष्ठ कर्मचारीहरूले आशङ्का गरेका छन् ।

जसमा सबैभन्दा बढी हतार हतारमा अस्पतालको नयाँ भवन हस्तान्तरण लिने व्यवस्थापन तथा प्रशासनले अस्पतालका लिफ्ट नचल्ने अवस्थाको भए पनि भवन बुझेका थिए ।

कुल १४ करोड बढीको योजनामा दुई करोड भन्दा बढी लिफ्टमा खर्चको भुक्तानी सम्बन्धित ठेकेदारले लिई सकेको छ, एक कर्मचारीले भने,तर लिफ्ट सञ्चालन नै भई रहेको छैन ।

दोस्रो र तेस्रो तल्लामा जाने बिरामी स्वाँ स्वाँ गर्दै कठिनाइ पूर्वक कट्नु पर्ने बाध्यता छ । भवनमा आखिर लिफ्ट किन राखियो, उनले प्रश्न गरे,जब प्रयोगमै आउँदैन भन्ने लिफ्ट किन बनाइयो,किन भुक्तानी दिइयो  ?

त्यसै गरी बिग्रेको ६० लाख मूल्य बराबरको अत्याधुनिक एक्स-रे समेत खरिद गरी अस्पतालमा दाखिला गरिएको छ । ती एक्स-रे दाखिला देखि नै सञ्चालनमा छैन, बनाउन पनि लाखौँ रुपियाँ खर्च गर्नु पर्ने अवस्था देखिन्छ ।

कसले खरिद गरे र दाखिला गरे यो पनि सोच्नु पर्ने विषय बनेको छ । त्यसैगरि बिमाको रकम समेत ४१ लाख माग नै नगरिएको र किन माग गरिएन ? भन्ने अर्को प्रश्न उब्जिएको छ ।

औषधी खरिदमा पनि ३१ लाख बराबरको माग र दाखिला नै नगरेर भुक्तानी गर्न खोज्दा अहिले भुक्तानी रोकिएका छन् ।
अस्पतालमा हुने यस्ता ठुलो रकमबारे मन्त्रालयका अधिकारीसँग पहुँच पु¥याई मात्र हुन सक्ने दाबी अस्पतालका कर्मचारीहरूको रहेको छ ।

हेर्दा सामान्य देखिने भए पनि यो ठुलो अनियमितता भएको आरोप कर्मचारीहरूको रहेको छ । कनिष्ट कर्मचारीहरूले केही आफ्ना सामान्य सुविधाका लागि किचकिच गर्ने अस्पताल प्रशासन कसरी यस्ता ठुलो रकम नोक्सानी हुने गरी अस्पतालमा काम गरेका रहेछन्, त्यसको सत्य तथ्य छानबिन गरी सार्वजनिक हुनुपर्ने उनीहरूको माग रहेको थियो ।

यी कार्यहरू मध्ये केही तत्कालीन अध्यक्ष महेन्द्र गुप्ता, मेसु डा.नुरुल होदा, नासु गोविन्द ज्ञवाली रहेको बेला भएको उनीहरूले बताउने गरेका छन् । अहिले नयाँ अध्यक्ष जगदीश चौधरी छन्,भने डा.होदा र नासु ज्ञवालीको सरुवा भई सकेको छ ।

बिमा वापत सेवा दिँदै आएको तर पुरै बिमा रकम उपलब्ध नहुँदा सेवा प्रवाहमा चुनौती थपिएको अस्पतालका लेखापाल लल्लन कुर्मीले बताए । विगत देखी पनि बिमाको रकम आउन बाँकी थियो, उनले भने, अहिले पनि बिमा सेवामा खर्च हुने रकम बढ्दै गएको छ ।

त्यसमा पनि बिमाको सफ्टवेयर नै बिग्रेर ४१ लाख रुपियाँको हिसाब नै देखिँदैन, यसले अस्पतालको सेवालाई प्रभावित बनाएको उनले जनाए । औषधीको भुक्तानीबारे विधि र प्रक्रिया पुरा नै नगरी खरिद गरिएकोले भुक्तानीमा समस्या देखिन्छ, उनले भने, यसबारे यथार्थ विवरण आए पश्चात् मात्र भुक्तानी गर्न सकिने बताए ।

अस्पतालको जिन्सीमा के समान कस्तो अवस्थामा छ ? त्यसको लगत विवरण तयार गर्न अस्पतालकै डा.किरन पाण्डेलाई जिम्मेवारी दिइएको अस्पतालका अध्यक्ष जगदीश चौधरीले बताए ।

उनका अनुसार लिफ्टको समस्याबारे स्वास्थ्य मन्त्रालय गएर बुझ्दा अस्पतालको टेन्डर लिइने ठेकेदारले पेटीमा काम गर्न दिइएको र पेटी ठेकेदारले केही अति आवश्यक उपकरण जडान नगरिदिँदा सञ्चालन हुन सकिरहेको छैन ।

ठेक्काको मर्मत सम्भारको म्याद समेत सकिसकेको हुँदा यदि बनाउन परेमा त्यसको भार पनि अस्पताललाई नै पर्ने देखिएको छ । औषधी खरिद, बिमा रकम र एक्सरेबारे पनि वास्तविकता बुझ्ने कार्य भई रहेको उनको भनाइ थियो ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या बढ्दै गएको छ, त्यसले गर्दा बिरामीको चाप पनि बढ्दै गएको छ । हालै मात्र अस्पतालमा बालरोग विशेषज्ञ वृजकुमार यादव सरुवा भई आएर हाजिर भएका छन् ।

अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले थप ६ जना विशेषज्ञ चिकित्सक गरी कुल १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालले जनाएको छ । ५ जना मेडिकल अधिकृत र दुई जना डेण्टल सर्जन सहित २० जना कार्यरत छन् ।

अस्पतालका अनुसार डा.प्रकाश ढकाल रेडियोलोजीष्ट कन्सल्टेन्ट, डा.कृष्ण श्रीवास्तव हाडजोर्नी विशेषज्ञ (अर्थोपेडिक सर्जन), डा. अजेन्द्र यादव स्त्री तथा प्रसुती रोग विशेषज्ञ (गाईनो), डा.सबा खान एनेस्थेसिया कन्सल्टेन्ट, डा.अब्दुल हकिम मुसलमान ल्याप्रोसकोपी सर्जन,डा.रुबी श्रीवास्तव स्त्री तथा प्रसुती रोग विशेषज्ञ (गाईनो)डा.नरेन्द्र यादव जनरल फिजिसियन, डा.किरन पाण्डे जनरल सर्जन,डा.सुस्मिता उपाध्याय जनेरेटिक मेडिसिन, डा.विवेक अचार्य क्षेत्री जनरल फिजिसियन, डा.वृन्दा ढुगाँना स्त्री तथा प्रसुती रोग विशेषज्ञ (गाईनो) डा.दिब्या शाह अपथार्मालोजिष्ट लगायतका कन्सल्टेन्ट (विशेषज्ञ चिकित्सकको टोली कार्यरत छ ।

अस्पतालमा नियमित डायलसिस सेवासँगै विशेषज्ञले सर्जरी गरे पश्चात् दिइने अन्य सेवाका लागि नर्सिगँ स्टाफ, पारामेडिक्स, पोष्टअफ स्टाफ, ओटी सहयोगी स्टाफ अभाव नै रहेको छ ।

अस्पतालमा अहिले दैनिक चार सय भन्दा बढी बिरामी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । सर्जन भएर सर्जरीको गर्ने संँख्यामा वृद्धि भएको छ । दिनमा १० वटा सर्जरी पनि हुने गरेको छ ।

विशेषज्ञ चिकित्सकले सर्जरी गर्न सक्छन्,तर सर्जरी पछि दिइने सेवाका लागि सैया थप्नुपर्ने र सैया अनुसार स्वास्थ्यकर्मी थप्नुपर्ने अवस्था आउँछ, त्यसैले केही बिरामीलाई अप्रेसनका लागि प्रादेशिक अस्पतालमा समेत पठाउने गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?