Butwal Today

टमाटरमा भविष्य खोज्दै किसान

२४ कार्तिक २०८२, सोमबार
अ+
अ-

दाङ, २४ कात्तिक ।

घोराहीदेखि पश्चिम जाने बाटो जुन भाइरल रोडले परिचित छ । बारी भरी लटरम्म टमाटर पाकेका । कोही युवा टमाटर टिप्दै छन्, कोही टमाटर जोखेर बेच्दै छन् त कोही कार्टुनमा प्याक गर्न बसेका छन् ।

हेर्दा देखिन्छ  सबै व्यस्त छन् । यो दृश्य हो दाङको घोराही उपमहानगरपालिका –१२ हापुर निघुवारको ।  रोल्पाबाट दाङ बसाइँ सरि आएका महेन्द्र थापाले विगत  तीन वर्ष देखि घोराही –१२ निघुवारमा ब्यावसायीक रूपमा  टमाटर खेती गरेका छन् । पाँच वर्षलाई  २५ कट्ठा जमिन भाडामा लिएर टमाटर खेती गरेको उनले बताए  ।

स्वर्गद्वारी कृषि फर्मका नामबाट सञ्चालन भएको तरकारी खेती दाङका विभिन्न स्थानगरि १० बिघा क्षेत्रमा  फैलिएको छ ।   निघुवारमा टमाटर , घोराही –१० खैरामा काँक्रा र खुर्सानी  लगायत अन्य स्थानमा पनि खेती रहेका छन्  ।  महेन्द्रलाई उनका छोरा पूर्णबहादुर थापाले सहयोग गरेका छन् ।

बुवा काममा व्यस्त भएकाले पूर्णलाई तरकारी बारी मै भेटेका थियौँ  । बुवाले सुरुवात गर्नुभएको खेतीमा मैले सहयोग गरेको छु, पूर्णले भने । तरकारी बिक्री गर्दा, कामदार लगाउदा , टिप्दा सबै कामको जिम्मा मेरो छ ।  तरकारी र टमाटर खेतीबाट राम्रो आम्दानी भएको छ ।

घोराहीका थोक व्यापारी फाममै गाडी लिएर आउने भएकाले बिक्रीको कुनै समस्या छैन  । स्वदेशमा केही उपलब्धि भएन भन्दै दिनानुदिन नेपालीहरू विदेशी रहेको समयमा  उनले   तरकारी खेती गरेर  दैनिक ५० जनालाई रोजगारी दिएका छन् ।

मेहनत नगरी कहीँ कतै केही हुँदैन अर्काको भूमिका पसिना बगाउनुभन्दा आफ्नै भूमिमा मेहनत गर्नुपर्ने उनको मान्यता छ ।  आफ्नो जमिन बाँझो राखेर विदेशमा पसिना बगाउनु भन्दा यही केही गर्नुपर्छ भन्ने मान्यताले खेतीमा लागेको उनले बताए । दैनिक  १० कुन्टल टमाटर उत्पादन हुन्छ, सबै बिक्री हुने गरेको उनले बताए ।

टमाटर खेती गरेको स्थानमा १७ जनाले प्रत्यक्ष  रोजगार पाइरहेका छन्  । टमाटर रोपेको करिब ७० दिनमा तयार हुने र त्यसबाट राम्रो आम्दानी लिने गरेको उनले बताए  । टमाटरको सिजनमा कम मूल्यमा बिक्री गरे पनि बिसिजनमा भने राम्रो मूल्य पर्ने गरेको छ ।

वार्षिक पाँच  लाख भन्दा बढी आम्दानी हुने गरेको पूर्णले बताए । अहिले  थोकमा २० रुपैयाँ किलो र खुद्रा ५० रुपैयाँ किलोमा टमाटर बिक्री भइरहेको छ,उहाँले भने ।  टमाटर बेचेर आएको पैसाले घर परिवार चलाउन, कामदारलाई  ज्याला दिएर पनि  बचत गर्ने गरेको उनले बताए  ।

आफ्नो जमिन छ भने आफ्नोमा गर्ने छैन भने जमिन भाडामा ल्याएर पनि खेती गरेर प्रशस्त आम्दानी गर्न सकिने उनको भनाइ छ ।