© २०२३
बुटवल, २४ कार्तिक ।
देशभित्र भौतिक विकासमा काम गरिरहेका निर्माण व्यवसायीहरू निमार्ण सम्बन्धी नीति र भुक्तानीलाई लिएर समस्या भोगेको दुखेसो गरेका छन् ।
नेपाल निर्माण उद्योग परिषद् रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न पूर्ण बैठकमा बोल्ने वक्ताहरूले अहिले रहेको खरिद प्रणाली, सुनिश्चित भैसकेको ठेक्काको पनि बजेट सुनिश्चितता नहुँदा तथा उद्योगमा बिजुली बन्द हुँदा उत्पादन सामग्रीको अभाव जस्ता समस्याबाट गुज्रिनुपरेको दुखेसो गरेका छन् ।
बैठकमा नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय अध्यक्ष बलभद्र रानाले पटक पटक देशमा परिवर्तन आए पनि त्यसबाट आफूहरूको समस्या समाधान नभएको गुनासो गरे । सरकारबाट निर्माण ब्यवसायीहरु प्रतिको दृष्टिकोण परिवर्तन गर्न उनले आग्रह गरे ।
कार्यक्रममा जिल्ला अध्यक्ष राजन ज्ञवालीले सुनिश्चित भइसकेका ठेक्काको समेत बजेट सुनिश्चितता नहुँदा कार्य अघि बढाउन कठिनाइ परेको गुनासो गरे । निर्माण सामग्रीको सधैँ अभाव हुने र तोकिएको म्यादमै काम पुरा नहुने जस्ता समस्या बढिरहेको उनले बताए ।
यसैबिच बैठकमा आगामी माघ महिनामा हुने महाधिवेशनको तयारी, हालको राजनीतिक परिवर्तन, निर्माण व्यवसायीहरूको भुक्तानी रोकिएको विषयलगायतका मुद्दाहरूमा छलफल गरिएको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश महासचिव जबिन कक्षपतिले लुम्बिनी प्रदेशमा मात्रै काम सकिएको करिब ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी रोकिएको बताए । उनले निर्माण व्यवसायीहरूको हितका लागि एकीकृत आन्दोलन आवश्यक रहेको बताउँदै जेनजी आन्दोलनपछि प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
नेपाल निर्माण उद्योग परिषद्का अनुसार हाल रुपन्देही जिल्लामा झन्डै २५० जना सदस्य तथा लुम्बिनी प्रदेशभर २ हजारभन्दा बढी सदस्य रहेका छन् । बैठकमा सङ्गठन सुदृढीकरण, सदस्य विस्तार, र सरकारसँगको सहकार्यबारे पनि छलफल गरिएको थियो ।