© २०२३
नेपाल प्रहरीले अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै सावधान रहन आग्रह गरेको छ ।
अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा त्यो सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको छ ।
सामाजिक सञ्जाल पछिल्लो समय हिंसाको कारक समेत बन्दै गएको देखिएको छ । सामाजिक सञ्जालकै माध्यमबाट धेरै अपराधजन्य घटना भएका छन् ।
पछिल्लो समय अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाई खाता ह्याक गरी ठगी हुनसक्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ । सबैलाई थाहा भएकै कुरा हो– अनलाइन ठगीको कारक बन्दै गएको छ ।
त्यसमा सामाजिक सञ्जालको दुरुपयोग हुने गरेको छ । अर्कोतर्फ अहिले ९० प्रतिशत अपराधजन्य घटना यही सामाजिक सञ्जालको प्रयोग गरी भइरहेकोले सबै सचेत हुनुपर्ने आवश्यकता छ ।
निश्चित रूपमा कुनै पनि वस्तुको सदुपयोगबाट त्यसले दिने फाइदा अमूल्य हुन सक्छ तर त्यसलाई दुरुपयोग गरे नोक्सानी बाहेक केही हुँदैन भन्ने कुरा सामाजिक सञ्जालको प्रयोगका घटना उदाहरण बनेका छन् ।
सामाजिक सञ्जालको सदुपयोग गर्दा त्यसले निकै सहयोग र फाइदा पुगेको उदाहरण हाम्रै समाजमा प्रशस्तै छन् तर दुरुपयोग गर्दा त्यसले पु¥याउने हानीको कल्पना पनि गर्न सकिदैन् ।
अर्कोतर्फ सामाजिक सञ्जालमा गरिने पोष्टले कसैको हानी वा मानमर्दन गर्छ कि भन्नेतर्फ अव ध्यान दिनुपर्ने भएको छ । होइन भने सामाजिक सञ्जालकै कारण जघन्य अपराधका घटना हुन सक्छ भन्ने उदाहरण खोज्न कतै जानु पर्दैन ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लो समय यसबाट पीडा भोग्नेहरूको सङ्ख्या पनि बढ्दै गएको देखिएकोले यसको प्रयोगमा सावधानीको खाँचो छ । सामाजिक सञ्जालको सदुपयोग भन्दा पनि दुरुपयोग बढिरहेको देखिएको छ ।
खास गरी युवायुवती यसको लतमा फस्नु अपराध बढाउने प्रमुख कारक हो । अर्कोतर्फ सामाजिक सञ्जालकै माध्यमबाट ठगीका घटना बढ्दै गएको छ । जबसम्म यसमा नियन्त्रण हुन सक्दैन तबसम्म सामाजिक सञ्जालको दुरुपयोग बढिरहनेछ ।
नेपालले सामाजिक सञ्जालको प्रयोग गरी हुने अपराधजन्य घटना नियन्त्रणका लागि छुट्टै कानुन बनाउनु जरुरी छ । त्यसो त कानुन नभएको होइन तर अव कानुनलाई कडा दण्ड सजायको समेत व्यवस्था गर्ने गरी संशोधन गर्नुपर्छ भने पनि राज्य चुक्नु हुँदैन । फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ प्रतिशत हिंसामा पर्ने गरेको देखिएको छ ।
त्यस्तै फेसबुकबाट ६१ प्रतिशत हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ प्रतिशत र ह्वाट्सएपमा १२ प्रतिशत अनि भाइवरमा ११ प्रतिशत हिंसा हुने गरेको छ । अव ढिलाइ नगरी सामाजिक सञ्जालबाट उत्पन्न खतरा सबै मिलेर सामना गर्नका लागि एकजुट हुनुपर्ने समय आएको छ ।
सामाजिक सञ्जालमा राज्यको नियमित, समाज कता गइरहेको छ भन्ने विषयमा खबरदारी र घर परिवारले आफ्ना सदस्यहरूको सामाजिक सञ्जालतर्फ भइरहेको लगावले उत्पन्न गर्न सक्ने हानीको विषयमा ख्याल गर्नै पर्ने भएको छ ।
अबको दिनमा यी सबै कुरालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको दुरुपयोगमा नियन्त्रण गर्नुपर्ने खाँचो टड्कारोरूपमा देखिएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लो समय यसबाट पीडा भोग्नेहरूको सङ्ख्या पनि बढ्दै गएकोले सरकारको ध्यान पुगोस् ।
सामाजिक सञ्जालबाट उत्पन्न हुनसक्ने लाभ र हानीका कुरा नजानेरै चलाउँदा त्यसले भोलिको दिनमा समस्या निम्त्याउन सक्छ भन्ने कुरामा अब सबै गम्भीर हुनुपर्ने बेला आएको छ ।
खास गरी भर्खर भर्खर सामाजिक सञ्जालका प्रयोग गर्नेहरूले यसको लाभ र हानीका विषयमा सोच्नु जरुरी छ । होइन भने सामाजिक सञ्जाल क्षणभरमा अपराधजन्य घटना मात्रै होइन, जीवनभर पछुताउने कारण बन्न सक्छ ।