© 2026
चन्द्रौटा, २३ कार्तिक ।
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समूहमा विवाद भएको छ ।
वडा नम्बर ३ र ५ अन्तर्गत पर्ने उक्त वनको गत शनिबार भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा एकपक्षीय रूपमा अगाडी बढेपछि विवाद चर्किएको हो ।
वनको प्रतिवेदन प्रस्तुत गरेपछि उपभोक्ताले भनाइ राख्न नपाएपछि कार्यक्रममा विवाद चर्किएको स्रोतले जनाएको छ । स्थानीय सन्तोष चौधरीले हिसाबकिताब हिनामिना भएको बताउँदै आफ्ना कुरा राख्न पाउनुपर्ने बताएका छन् ।
सामुदायिक वन कसैको पेवा नरहेको जिकिर गर्दै उपभोक्ता बनाउने समय मन मर्जी तरिकाले सदस्यता कार्ड वितरण गर्नु उचित नरहेको उनको भनाई छ ।
स्रोतका अनुसार वन समितिले वार्षिक प्रतिवेदन, आय–व्यय र आगामी योजना प्रस्तुत गर्दा पारदर्शिता नदेखिएको भन्दै केही उपभोक्ताहरूले आपत्ति जनाएका थिए ।
उनीहरूले समितिमा सर्वसाधारणको सहभागिता नहुने, आफ्नै समूहका सदस्यहरूलाई मात्र निर्णय प्रक्रियामा सहभागी गराउने र अनियमितता ढाकछोप गर्न खोजिएको आरोप पनि लगाएका छन् ।
तर वन उपभोक्ता समूहका अध्यक्ष यज्ञ प्रसाद बेल्वासेले भने सबै काम नियमानुसार भएको दाबी गरेका छन् । “हामीले वन ऐन र कार्यविधिअनुसार सबै प्रक्रिया अघि बढाएका हौँ” अध्यक्ष बेल्वासेले भने: ‘केही व्यक्तिले व्यक्तिगत स्वार्थका कारण अनावश्यक हल्ला फैलाइरहेका छन् ।’
यता असन्तुष्ट उपभोक्ताहरूले वनको समग्र वित्तीय विवरण सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले जिल्ला वन कार्यालय र स्थानीय सरकारसँग समेत छानबिनको माग गर्दै ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।
विवादका कारण वनको नियमित कार्य, दाउरा वितरण र संरक्षणमा पनि प्रभावित भएको छ । स्थानीयवासीले चाँडै समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
यस्तै निर्वाचन समितिका संयोजक नवराज पाण्डेले अगामी मंगलबार बिहान १० बजे बैठक बसी छलफल गरी सहमतिको प्रयास गर्ने बताए । उनले भने: “सम्बन्धित गाउँका सेलेक्टेड व्यक्तिहरूलाई बोलाई छलफल गरिनेछ ।
यदि सहमति नभएको खण्डमा निर्वाचन प्रक्रियामा जाने छ ।”