© २०२३
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले सबैलाई चिन्तित बनाएको छ ।
प्रहरीको रिपोर्ट भन्छ–एक वर्षमा करिब ६५ हजार त्यस्ता घटना भएका छन् जो अपराधसँग जोडिएका छन् । गत वर्ष यो सङ्ख्या ६० हजारको हाराहारीमा थियो । एक वर्षमा अपराधजन्य घटनामा पाँच हजारले बढोत्तरी भएको छ । यो भनेको अत्यन्त चुनौतीको कुरा हो ।
प्रहरीकै रिपोर्टले अपराध बढ्नुको मुख्य कारणमा घरजग्गा विवाद र प्रतिशोध मुख्य कारक रहेको देखाएको छ । घरायसी विवाद, प्रतिशोध र मादक पदार्थ सेवनकै कारण हत्याका घटना भएका छन् र त्यसबाट अपराधजन्य प्रवृत्तिमा वृद्धि भएको छ ।
७७ वटै जिल्लामा एक वर्षमा हुने अपराधका घटनाको मुख्य कारणमा मधेस तथा तराईमा हुने छिमेकी छिमेकी तथा दाजुभाइबिचको जग्गा विवाद र प्रतिशोध मूख्यरूपमा देखा परेको छ । कञ्चनपुरमा केही दिन अगाडि भएको हत्या प्रकरणमा यही प्रवृत्ति देखिएको छ ।
त्यसै गरी झापामा एक १३ बर्षीया बालिकाको हत्यामा पनि पारिवारिक झमेला मुख्य कारण देखिएको छ । अपराधको यस्तै उदाहरण केही दिनअघि स्याङ्जामा पनि दोहोरिएको थियो ।
स्याङ्जामा भएको अपराधमा आफूले मन पराएको युवतीले अर्कैलाई मन पराउन थालेको नाममा युवतीको हत्या गरेको घटना थियो । प्रतिशोधपूर्ण यस प्रकारका अपराधजन्य घटनाले अहिले नेपाली समाजलाई अपराधमय बनाउन थालेको प्रतीत हुन्छ ।
एकातर्फ हिंसाजन्य घटनामा वृद्धि हुनु गम्भीर चिन्ताको विषय हो । यसले नेपाली समाज आपराधिक मनोवृत्तितर्फ उन्मुख भइरहेको हो कि भन्ने भय उत्पन्न भइरहेको छ ।
सामान्य निहुँमा एकले अर्कोको हत्या गरेको घटना सुन्न र पढ्नु परिरहेको मात्रै छैन, अरू धेरै घटनाहरू यस्ता छन् जुन मानव समाजलाई नै कलंकति बनाउने प्रकृतिका छन् र तीनले मानवीय समवेदना बिर्सेको आभास हुन थालेको छ ।
सामान्य झगडाको निहुँमा ज्यानै लिनेसम्मका घटना हुन थालेका छन् । पहिले पहिले अपराध र मानव हिंसाका घटनाको उदाहरण दिनुपर्दा भारतको उदाहरण दिने गरिन्थ्यो तर पछिल्लो समय नेपालमा धेरै गम्भीर प्रकृतिका अपराध हुन थालेको छ ।
पछिल्लो समय मानिसमा अपराधको मानसिकता नै तयार भएको देखिन्छ । सामान्य कुरामा पनि मानिसको हत्या भएका घटना सुन्नमा आएका छन् । खास गरी तराईका जिल्लामा अहिले अपराधका घटनाले जनजीवनमा सन्त्रासको अवस्था उत्पन्न भएको छ ।
मधेस र तराईमा हुने अपराधका घटनामा जग्गा र प्रतिशोधको कारण धेरै देखिएको छ । बीभत्स हत्याका घटना शृङ्खलाले मानवीयता भन्ने कुरा विस्मृत हुँदै गएको हो कि भन्ने चिन्ता उत्पन्न गरेको छ ।
कुनै पनि नाममा प्रतिशोध साँध्ने प्रवृत्तिले अपराधीकरणलाई मलजल गरिरहेको अवस्था छ । बदलाको भावना वा रिस फेर्ने नाममा बढ्दो अपराधजन्य घटनाले चुनौती सिर्जना गरिदिएको छ । मानिस रिसको नाममा वा बदलाको भावनाले हत्याको अवस्थासम्म पुग्न पनि पछि पर्दैनन् ।
पछिल्लो समय जुन अपराधजन्य घटनाको त्रास देखिएको छ, यो अवस्था तत्काल निराकरणका लागि प्रशासन गम्भीर हुनु जरुरी छ । अपराधजन्य घटना नियन्त्रणको लागि सबैभन्दा पहिले समाज बदल्नु जरुरी छ ।
समाजमा व्याप्त कुरीति र कु–संस्कार अन्त्यका लागि हामी सबैले पहल लिनु आवश्यक छ । पछिल्लो समय अपराधजन्य घटना न्यूनीकरणका लागि धेरै प्रयास भएका छन् तर ती परिणाममा शून्यको अवस्था छ ।
समाजलाई सचेत बनाउने, असल नागरिक बनाउन नैतिक शिक्षाको आवश्यकता छ । त्यसका लागि फेरी पनि सरकार, नागरिक समाज र सिङ्गो नेपाली समाजले आफैबाट असल अभ्यासको सुरुवात गर्नुपर्दछ ।
नेपाल प्रहरीले जसरी अपराधको सङ्ख्यामा वृद्धि भएको भनेको छ, उसको पनि दायित्व हो– अपराधका घटनामा नियन्त्रणको प्रयास । अतः अपराधजन्य घटना न्यूनीकरणका लागि समाजलाई शिक्षित, समुन्नत र संस्कारी बनाउनेतर्फ ढिलाइ गरिनु हुँदैन ।