© 2026
लमही, २३ कार्तिक ।
कहिल्यै बाली नउब्जेको बगर र बन्जर जमिन अहिले हरियो हरियो केरा बोटले ढाकिएको छ । लमही नगरपालिका–६ ढिकपुरको बन्जर जमिन यति बेला हेर्न लायक बनेको छ ।
उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले व्यक्तिगत स्वामित्वमा रहेका जमिनहरू लिजमा लिएर चाक्लाबन्दी प्रणालीमा केरा खेती सुरु गरेपछि सो बाँझो जमिनले नयाँ रूप लिएको हो ।
संस्थाका सचिव विश्व प्रकाश शर्माका अनुसार सहकारीले हालसम्म ५३ बिघा १६ कट्ठा क्षेत्रफलमा खेती विस्तार गरेको छ । “पहिले बगरमा कसैले खेती गर्छ भनेर सोच्दैनथ्यो, अहिले त्यही ठाउँ हराभरा भएको छ,” शर्माले भने ।
चितवनमा लामो समयदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका कृषक पुण्यप्रसाद पङ्गाल सहकारीलाई प्रविधि र ज्ञानका साथ सघाइरहेका छन् । उनको सहयोगमा सहकारीले हाल ४० कट्ठा क्षेत्रफलमा मालबोक जातको केरा खेती सुरु गरेको छ ।
सुरु भएको डेढ वर्षमै केरा फस्टाउन थालेको छ । उनले देउखुरी केरा खेतीका लागि अत्यन्तै उर्वरा भूमि भएको र बगरमा भएकोले सिँचाइ, बजारीकरणमा समस्या भएको बताए ।
राप्ती नदीको तटीय क्षेत्र प्रायः बर्सातमा डुबान र हिउँदमा बगर बन्ने गर्थ्यो । तर सहकारीले त्यही भूमिमा केरा, मकै, खरबुजा र बदाम खेती गरेर बगरमा पनि ‘सुन फलाउन सकिन्छ’ भन्ने सन्देश दिएको छ ।
स्थानीय किसान हरिबहादुर थारु भन्छन्, “पहिले हामीले सोचेका थियौँ यो जमिनबाट केही नउब्जेला, तर अहिले केरा फलेपछि हामी पनि उत्साहित भएका छौँ ।” यद्यपि सहकारीलाई अहिले एक चिन्ता भने छ, भारतबाट आयात हुने सस्तो केराले बजारमा प्रतिस्पर्धा बढाइरहेको छ ।
“यदि सरकारको नीतिगत सहयोग पाइयो भने, हाम्रो केरा भारतको भन्दा राम्रो र दिगो उत्पादन बन्न सक्छ,” सचिव शर्माले बताए । हराभरा बगर, चम्किलो केरा र उत्साहित किसानहरू, ढिकपुरको यो कथा अहिले देउखुरीको नयाँ कृषि प्रेरणा बनेको छ ।
संस्थाले एक कार्यक्रमको आयोजना गरी स्थलगत अनुगमन तथा १९औँ साधारण सभा सम्पन्न गरेको छ । अनुगमन तथा साधारण सभामा सहभागी सरोकारवालाहरूले चक्लाबन्दी खेतीको प्रशंसा गर्दै, स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न र समयमै मल, सिँचाइ तथा कृषि सडक निर्माणमा ध्यान स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
स्थानीय तहमा उत्पादन भएका कृषि वस्तुको प्रभावकारी बजारीकरण र किसानलाई आवश्यक मल, सिँचाइ तथा कृषि सडक समयमै उपलब्ध गराउन स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
हाल दाङसहित लुम्बिनी प्रदेशका अधिकांश गाउँ, नगरपालिकामा किसानले उत्पादन त गर्न सफल भए पनि बजार अभावका कारण उचित मूल्य पाउन कठिनाइ भोगिरहेका छन् ।
उत्पादनको लागत उच्च हुँदै गएको र बजारमा बिचौलियाको प्रभाव बढ्दा किसान हतोत्साहित हुने अवस्था आएको दाङ जिल्ला सहकारी संघका अध्यक्ष हरि गौतमले बताए । कृषि क्षेत्रमा मलको अभाव र सिँचाइ सुविधाको कमी पनि चुनौतीका रूपमा देखिएको छ ।
देउखुरीका किसानले वर्षामा निर्भर खेती गर्दा उत्पादनमा निरन्तर कमी आउने भन्दै स्थानीय सरकारलाई स्थायी सिँचाइ प्रणालीको विकासमा लगानी बढाउन सुझाव दिएका छन् ।
त्यसै गरी, दुर्गम बस्तीहरूमा कृषि सडक अभावका कारण उत्पादन बजारसम्म पु¥याउन कठिनाइ भएको किसानहरूको अनुभव छ । उत्पादन ढुवानीका लागि बाटो नभएकाले धेरै फलफूल र तरकारी खेतमै कुहिने अवस्था रहेको किसान राधा नेपालीले बताइन् ।
देउखुरीको लमही मात्र होइन राप्ती, गढवा र राजपुरमा व्यावसायिक रूपमा केरा खेती सुरु भएको छ । दाङ जिल्ला केराका लागि आत्मनिर्भर बन्ने क्रममा रहेको छ ।