© २०२३
बुटवल, २२ कार्तिक ।
पाल्पा तिनाउ गाउँपालिका–१, आर्खोट्डीकी सुसिला सुनारी सबेरै उठ्छिन् । घरको कामको माजो सक्छिन् । परिवारसँगै खाना खान्छिन् ।
अनि लाग्छिन् आर्खोट्डी मगर भेजा समाजको भवनमा । जहाँ उनी हस्तकलाका सामग्री उत्पादन गर्छिन् । चार वर्ष अघि लिएको तालिम उनलाई अहिले धेरै उपयोगी भएको छ । थाकलको पातबाट विभिन्न सामग्री उत्पादनमा उनी दिदीबहिनीसँग दिन बिताउँछिन् ।
यता रेमकला पुनमगर पनि घरको काम सकेर समाज भवनमा समयमा पुग्छिन् । घरको खाली समयलाई सदुपयोग गर्दै उनी टोपी, झोला, चप्पल, पर्स, ह्याडब्याग जस्ता सामग्रीहरू बनाउँछिन् ।
वैशाख ताका सिजनमा जङ्गलमा थाकल टिप्ने र त्यसलाई प्रशोधन गरी हस्तकलाका सामग्री उत्पादन गर्ने गरेका हुन । सिलाईकटाईको तालिम लिएकी उनी घरमा । पुराना र उध्रिएका कपडा सिउँथिन । धेरै थोरै आम्दानी भएको थियो ।
उनको त्यही सीप अहिले हस्तकलाको सामग्री उत्पादनमा उपयोगी भएको छ । एक हप्ताको तालिमसँगै उनी टोपी, ब्यागजस्ता सामाग्री बनाउन सक्षम भइन । समूहमा बसेर एक वर्षदेखि उत्पादन सुरु भएको हो । आगामी दिनमा टपरी बुन्ने, मकैको पोस्कर बनाउने जस्ता तालिमहरू तयार गर्न आफूहरू इच्छिुक रहेको उनले बत्ताइन् ।
वन पैदावर अनुदानमा आधारमा कार्यक्रम डिजिएमको प्राविधिक र आर्थिक सहयोगमा तालिम दिएर महिला सशक्तिकरणको पाटोमा महत्त्वपूर्ण काम भएको आर्खोट्डी मगर भेजा अध्यक्ष यमानसिह चिदिले बताए ।

मिचाहा जातिको प्रजातिमा पर्ने थाकलको पातलाई प्रशोधन गरी सामग्रीबाट उत्पादन गरिँदै आएको उनी बताउँछन् । ‘जेठ/असारमा पात टिक्ने गरिन्छ,’–उनले भने । सङ्कलन भएका पातलाई सुकाउने, आवश्यकता अनुसार रंगरोगन गर्ने पुनः सुकाउने काम हुन्छ ।
जसलाई करिब २–३ दिन सुकाउने गरिन्छ । सुकेको पातलाई आवश्यकता अनुसार रङ्ग लगाउने र पुन सकाउने र फेरि एउटा रोल गर्ने गरिन्छ । यसबाट नै विभिन्न उत्पादनहरू तयार गरिन्छ । यसरी तयार भएको कच्चा पदार्थ स्टोर गरेर राखिन्छ ।
‘बजारमा माग अनुसार हस्तकलाका सामग्रीहरू उत्पादन गरिन्छ,’– उनले भने । टोपी, झोला, चप्पल, पर्स, ह्याडब्याग लगायत उत्पादन हुन्छ । थोरै लगानी र मेहनतमा आयआर्जन गर्न सकिने हुँदा पनि महिलाहरूलाई सहज भएको उनी बताउँछन् ।
सहरमा क्षेत्रमा हुने प्रदर्शनी, मेला र संघसंस्थाहरूको साधारण सभामा समेत उनी यी सामग्री प्रदर्शनका लागि लैजाने गर्छन् । गाउँपालिकाबाट समेत सहयोग हुँदा धेरै मद्दत मिलेको उनी बताउँछन् । समाजमा आबद्ध करिब दुई दर्जन महिला दिदीबहिनीहरू आबद्ध छन् ।
वार्षिक रूपमा १५-२००० थान सामग्री उत्पादन हुने गरेको उनी बताउँछन् । यस्ता उत्पादन नेपालभन्दा बाहिरी देशहरूमा माग रहेको भए पनि त्यो सक्न सकिएको छैन र ठुलो मात्रामा उत्पादन गर्न सके यसलाई पर्यटकीय देशहरू थाइल्यान्ड जस्तामा बिक्री वितरण गर्न सकिने सम्भावना रहेको छ । कोशेलीघर निर्माण गर्न सके थप मद्दत मिल्ने उनी बताउँछन् ।
यता रानीढुगा सामुदायिक वन उपभोक्ता समूहका सहसचिव दुर्गा पुनले गाउँमा पाइने थाकल टिपेर आयआर्जन गर्न सफल भएको बताए । वनबाट दिगो रूपमा सङ्कलन गर्न सकिने थाकल, निगालो जस्ता गैर काष्ठ बनौटी पदार्थहरूलाई उचित रूपमा उपयोग गर्न सके गाउँका महिलाले घरमै बसेर राम्रो आम्दानी गर्न सकिने अवस्था छ ।
पहिले थाकलको प्रयोग थोरै मात्रामा सीमित थियो, तर अहिले प्रशिक्षण र बजार पहुँच विस्तारसँगै महिलाहरूले सङ्कलन, प्रशोधन र बिक्रीमार्फत नियमित आम्दानी गर्न थालेका उनी बताउँछन् ।
यसले महिलाको आर्थिक सशक्तीकरणसँगै वनबाट दिगो उपयोग र संरक्षणको भावना पनि बढिरहेको पुनको भनाइ छ । आर्खोट्डीमा ५० टोलधुरी रहेका छन् ।