Butwal Today

देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय

२२ कार्तिक २०८२, शनिबार
अ+
अ-

सल्यान, २२ कार्तिक ।

सल्यानमा युवाहरूको समूहले तिहारमा देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट यात्रु प्रतीक्षालय निर्माण गरेको छ ।  जिल्लाको त्रिवेणी गाउँपालिका, ३ स्थित सितलबजार भैली समूहले यस वर्ष देउसी भैलो खेलेर सङ्कलन भएको रकम सामाजिक कार्यमा लगाएको हो ।

भैलोबाट दान सङ्कलन भएको रकम भोजभतेरमा खर्च गर्ने, अवलोकन भ्रमणको नाममा पैसा सक्ने प्रचलनलाई बदल्दै यो समूहले सितलपुरमा यात्रु प्रतीक्षालय निर्माण गरेको हो ।

युवा समूहले यस वर्ष भैलो खेलेर ४२ हजार रुपैयाँ जम्मा गरेको थियो । सङ्कलित रकम मध्येबाट ४० हजार रुपैयाँको लागतमा यात्रु प्रतीक्षालय निर्माण गरेको भैली समूहका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए ।

प्रतीक्षालयले गर्मी वर्षामा बाटो हिँड्ने र गाडी कुर्न बस्ने यात्रुहरूलाई ठुलो राहत हुने उनको विश्वास छ ।

प्रतीक्षालयको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । उद्घाटन गर्दै त्रिवेणी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कर्णदेव डाँगीले युवाहरूको यस कार्यको प्रशंसा गरे । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै युवाहरूले देखाएको उदाहरण अन्य समुदायका लागि पनि प्रेरणादायी भएको बताए ।

सार्वजनिक स्थानमा रहेको प्रतीक्षालयलाई आफ्नै सम्पत्ति जसरी माया गरी संरक्षण गर्नुपर्ने त्रिवेणी, ३ का निवर्तमान वडा अध्यक्ष हुकुम प्रसाद महताराले बताए । आगामी वर्ष पनि सामाजिक कार्यमा लगानी गर्ने भैलो समूहले जनाएको छ ।