© २०२३
काठमाडौँ, २१ कात्तिक ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणमा बैंकहरूको बिग्रिएको वासलात सार्वजनिक भएको छ । बैंकहरूले साउन, भदौ र असोज महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा अधिकांश बैंकहरूको नाफा घटेको तथ्यांक देखिएको हो ।
गएको तीन वर्षदेखि बैंकहरूले अधिक तरलताको भार बोक्दै आएका छन् । यसले उनीहरूको ब्याज आम्दानी खुम्च्याएको छ भने कर्जा असुलीको दबाब पनि बढेको छ । सोही कारण यसको प्रत्यक्ष असर बैंकहरूको समग्र नाफामा देखिन थालेको हो ।
चालू आर्थिक वर्षमा नाफा घट्नुका मुख्य कारणहरूमा असुलीको दबाब, घट्दो ब्याज आम्दानी, अधिक तरलता, बढ्दो खराब कर्जा तथा त्यसमा छुट्याउनुपर्ने रकम वृद्धि रहेका छन् । यी सबै कारणले गर्दा चालू आवको पहिलो तीन महिना बैंकहरूका लागि सुखद बन्न सकेन ।
२० वाणिज्य बैंकमध्ये जम्मा ५ वटा बैंकको मात्र नाफा गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ । बाँकी १५ वटा बैंकको नाफा भने थप घटेको देखिएको छ ।
अंकका हिसाबले पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने ग्लोबल आईएमई बैंक को नाफा गत वर्षको तुलनामा २२.९१ प्रतिशतले बढेको छ । गत वर्ष बैंकले १ अर्ब ५१ करोड नाफा गरेकोमा यो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड बराबरको नाफा गरेको हो ।
ग्लोबल आईएमईसँगै चालू आवको पहिलो त्रैमासमा एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक ले पनि नाफामा सुधार देखाएका छन् । तर, अन्य १५ वटा वाणिज्य बैंकले भने गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष कम नाफा कमाएका छन् ।
गत वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक यसपटक नाफा घट्दै दोस्रो स्थानमा पुगेको छ । चालू आवमा ग्लोबल आईएमई बैंक पहिलो र नबिल दोस्रो स्थानमा छन् ।
ग्लोबल आईएमईले १ अर्ब ८५ करोड नाफा गर्दै पहिलो स्थान ओगटेको छ भने नबिल बैंकले १ अर्ब ७५ करोड नाफा गर्दै दोस्रो स्थानमा पुगेको छ । चालू आवको पहिलो त्रैमासमा नबिलको नाफा १४.५६ प्रतिशतले घटेको हो । गत वर्ष सोही अवधिमा नबिलले २ अर्ब ५ करोड नाफा कमाएको थियो ।
समग्रमा हेर्दा चालू आवको पहिलो त्रैमासमा अर्ब क्लबमा ५ वटा बैंक मात्र पर्न सफल भएका छन् । गत वर्ष अर्ब क्लबमा ६ बैंक परेका थिए भने यसपटक नाफा घट्दै एनएमबी बैंक क्लबबाट बाहिरिएको छ ।