Butwal Today

प्रहरी हिरासतभित्र थुनुवाको मृत्यु

२१ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

सुर्खेत,२१ कार्तिक ।

सुर्खेतमा शुक्रवार बिहान एक थुनुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा लागु औषध कारोबार मुद्दामा थुनामा रहेका थुनुवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर– ११, पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढा थापाले जानकारी दिए ।  उनका अनुसार आज बिहान कर्णाली प्रदेश अस्पतालमा सुनारको उपचारका क्रममा मृत्यु भएको हो । सुनार बिहान ५ः५८ बजेको समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएको डिएसपि बुढा थापाले बताए ।

‘उहाँसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए,’बुढा थापाले  भने, ‘खबर पाए लगत्तै प्रदेश अस्पतालमा उपचारका लागि पु¥याएपछि चिकित्सकले मृत घोषणा गर्नुभएको छ ।’

उनका अनुसार उनको मृत्युपछि हिरासतमा जडान गरिएको सिसिटिभी फुटेज हेरिएको छ । फुटेजमा सुत्नुअघि बाथरुमबाट टाउको नुहाएर बाहिर निस्किएका थिए । उनी सुतेको समयमा घुर्ने भएकाले राति साथीहरूले नघुर्न भनेर उठाएको फुटेजमा देखिएको प्रहरीले जनाएको छ । उनी ७८ दिनदेखि हिरासतमा रहेका थिए ।