© २०२३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
लुम्बिनी प्रदेश सरकार मातहत रहेको यो अस्पताललाई अव ढिलाइ नगरी दुई सिफ्टमा सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनको अविलम्ब ध्यानाकर्षण होस् । त्यसै पनि यो अस्पतालमा सेवाग्राहीको चाप हरेक दिन बढिरहेको छ ।
दैनिक १५ सयदेखि दुई हजार बिरामीको उपचार गर्नु त्यति सहज अवश्य छैन । तसर्थ अस्पताल दुई सिफ्टमा सञ्चालन भयो भने त्यसले एकातर्फ बिरामीको चाप पनि हलुका हुने र अस्पताललाई सेवा प्रवाह गर्न पनि सहज हुने विश्वास गर्न सकिन्छ । यो विषयमा अस्पतालको नेतृत्व गरिरहेका पदाधिकारीको ध्यान अवश्य पुगेको हुनुपर्छ । अर्कोतर्फ अस्पतालले धेरै प्रकारको सेवा विस्तार गरिरहेको छ ।
त्यसका लागि अस्पताल प्रशासन धन्यवादको पात्र छ । दैनिक सयौँ बिरामीको सेवालाई सहज बनाउनु चुनौतीकै विषय हो । त्यसमाथि सेवा विस्तार गर्दै जानु स्वागतयोग्य काम हो । केही दिनअघि बिमा सेवाको लागि थप काउन्टरको व्यवस्था गरिएको छ ।
मुटुका बिरामीका लागि अलग्गै उपचार सेवाको प्रबन्ध भएको छ । सरकारी अस्पताल हो सेवा प्रवाहमा ढिलाइ भएको अवश्य हुनसक्छ तर भएको सेवालाई सहज र सुलभ बनाउनु पनि महत्त्वपूर्ण कुरा हो ।
अतः अबको दिनमा मुख्यमन्त्री आचार्यले भनेजस्तै प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनको ध्यानाकर्षण हुनुपर्दछ ।
अव ढिलो नगरी अस्पतालको सेवा दुई सिफ्टमा सञ्चालनमा आएको सुन्न यस क्षेत्रका सेवाग्राही आतुर छन् । त्यसका लागि अस्पतालको नेतृत्व गरिरहेको व्यवस्थापन पक्ष तयार हुनु जरुरी छ । मुख्यमन्त्री आचार्यले अर्को महत्त्वपूर्ण कुरा पनि औँल्याउनु भएको छ ।
सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ । निश्चित रूपमा सरकारी अस्पतालमा यो मुख्य समस्याका रूपमा देखा परेको छ । गम्भीर प्रकृतिका बिरामीको उपचार सेवा नगरी बाहिर रिफर गरिदिने जुन समस्या छ, त्यो समाधान हुनैपर्दछ ।
लुम्बिनी प्रादेशिक अस्पतालले अव त्यो रोगको अन्त्य गरोस् । लुम्बिनी प्रादेशिक अस्पतालमै सबै सुविधा छ र जटिल रोग पनि निको हुन्छ भन्ने ग्यारेन्टी अस्पताल प्रशासनले बिरामी र तिनका आफन्तलाई गराउन सकोस् ।
यति भयो भने लुम्बिनी प्रादेशिक अस्पतालप्रतिको जनविश्वास अझै बढ्ने छ । निश्चित रूपमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल प्रदेशकै गौरव बन्ने अभियानमा रहेको विगत वर्षहरूयताका यसका गतिविधिले स्पष्ट गर्दै आएको कुरामा बिमती छैन ।
अस्पतालको नेतृत्व गर्ने व्यवस्थापन समिति र अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीहरूको ऐक्यबद्धता हुने हो भने अस्पतालको सुधारमा ठुलो मद्दत पुग्ने अस्पतालको स्वास्थ्य सेवामा आएको परिवर्तन उदाहरण वनेकै छ ।
त्यसै पनि यो अस्पताल नेपालकै ठुलो सरकारी अस्पताल बन्ने क्रममा अहिले निर्माणको काम भइरहेको छ । निर्माणको क्रमसँगै अस्पताललाई सुविधा सम्पन्न बनाउने अनि अस्पतालभित्र पूर्वाधार थप्दै जाने क्रम पनि चलिरहेको छ ।
सरकारी अस्पताल भन्ने बित्तिकै नाक खुम्च्याउने प्रवृत्ति कायमै छ तर यो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले भने उपचारपछि अस्पतालको प्रशंसा गर्ने गरेको उदाहरण प्रशस्तै छन् ।
अव अस्पतालले आन्तरिक जनशक्ति व्यवस्थापनका साथै उपकरणको व्यवस्थापनमा ध्यान दिने हो र अस्पतालका चिकित्सकका साथै स्वास्थ्यकर्मीहरूले होस्टेमा हैँसे गर्ने हो भने यो अस्पताल हजारौँ बिरामीको आस्थाको केन्द्र बन्नेछ ।
त्यसै पनि सरकारी अस्पताल गरिब, विपन्न र पहुँच बाहिरका बिरामीको लागि आशा र भरोसाको केन्द्र हो । अव सरकारी अस्पतालको सुधारमा सरकारले नै प्राथमिकता दिनु जरुरी छ ।
प्रादेशिक अस्पतालमा अव ढिलो नगरी दुई सिफ्टको सेवासँगै त्यहाँ आएका बिरामीलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने प्रवृत्ति अन्त्य भयो भने यो अस्पताल लुम्बिनी प्रदेशकै आस्थाको धरोहर बन्नेछ ।