© २०२३
बुटवल, २० कार्तिक ।
सवारी दुर्घटना र त्यसबाट हुने क्षति रोक्न लायन्स डिष्ट्रिकले ट्राफिक प्रहरीको सहकार्य अघि बढेको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालले बिहीबार एक कार्यक्रम गरि पहिलो चरणमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललाई हातेमालो कार्यक्रम अन्तरगत १०५ पिस ‘नो पार्किङ’ बोर्ड र १० हेल्मेट हस्तान्तरण गरेको छ ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले अव्यवस्थित पार्किङलाई रोक्न, तालिका बनाएर भित्री सडकहरूमा एकतर्फी तालिका अनुसार पार्किङ गरिँदै आएको बताए ।
तीव्र सहरीकरण वृद्धि भएको बुटवलमा ट्राफिक व्यवस्थापनको मुख्य समस्या रहेको उनले बताए । कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालका गभर्नर बालाराम भट्टराईले समुदाय लक्षित अभियानलाई जोड दिएको बताए ।
दुर्घटना न्यूनीकरण गर्ने अभियानलाई यो वर्ष प्राथमिकता दिएर कार्यक्रम गर्न लागेको बताए । समुदायका अगुवाहरूलाई अग्रसर गरि सडक दुर्घटनाबारे अन्तरक्रिया, प्रचारात्मक र सचेतनामूलक अभियान चलाउने गरि संस्थाहरू बिच सहकार्य अघि बढेको उनले बताए ।
कार्यक्रममा डिष्ट्रिकका सचिव एमएल पाण्डेले अहिले निमार्ण भएको बोर्ड पाँच वर्ष बढी समय चल्ने गरि निर्माण कम्पनीसँग सम्झौता गरि तयार गरिएको बताए ।
आगामी दिनमा नगरका प्रवेशद्धारहरुमा दुर्घटना सम्बन्धी सचेतनामूलक होर्डिङ बोर्ड राख्ने समेत तयारी रहेको बताए । करिब ५ लाख बराबरको २०० सय बोर्ड वितरण गर्ने लक्ष्य रहेको उनले बताए ।
लायन्स क्लब अफ बटौलीका अध्यक्षका विष्णु प्रसाद गौतमले सामाजिक उत्तरदायित्व अन्तरगत थोरै थोरै रकम जुटाएर सहयोग गरिएको बताए । ‘हामीहरूले न्यूनतम ५ वटा बोर्ड दिएका छौ ।’–उनले बताए ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारीले ट्राफिक व्यवस्थापनको काम केवल ट्राफिकको मात्र नभई आम नागरिकको पनि भूमिका उत्तिकै हुने बताए ।
नागरिकको भूमिका निर्वाह हुने गरि सामाजिक संघसंस्थाहरुबाट अगुवाइमा भएका यस्ता कार्यक्रमबाट दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापनमा सहयोग मिल्ने उनले बताए ।
कार्यक्रममा आईपिडिजी पुरुषोत्तम प्रधानाङ, प्रथम भिडिजी सन्दिप कशौधन, पूर्व डिजी अर्जुनमान सैजुले लायन्समा आबद्ध सदस्यहरू व्यक्तिगत सहयोग जुटाएर समुदाय लक्षित कार्यक्रम गर्दै आएको बताए ।