© २०२३
लमही ,२० कार्तिक ।
दाङको बबई गाउँपालिका–४ स्थित राजी खहरे खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ल्याउँदै गरेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय खिलतपुरले एउटा अनटेस्ट ट्याक्टर नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरका दुई वटा ट्याक्टर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यी तीनै ट्याक्टरले अनुमति बिना ढुङ्गा उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिएका सवारी साधनहरूमाथि बबई गाउँपालिकाले कानुनी प्रक्रिया अनुसार कारबाही गरी प्रत्येक ट्याक्टरलाई रु. १० हजारका दरले जम्मा रु. ३० हजार जरिवाना तोकेको छ ।
गाउँपालिकाले जरिवाना असुल गरी ट्याक्टरहरू सम्बन्धित व्यक्तिहरूको जिम्मामा बुझाइदिएको जनाएको छ ।
स्थानीयवासीका अनुसार पछिल्ला महिनाहरूमा राजी खहरेलगायत आसपासका नदी–खोलाबाट मनपरी ढुङ्गा, गिट्टी, बालुवा उत्खननका घटनाहरू बढेका छन् । यसले वातावरणीय सन्तुलन र स्थानीय संरचनामा असर पर्ने चिन्ता पनि बढेको छ ।
पर्यावरणविद्हरूले अनियन्त्रित उत्खननले नदीको धार परिवर्तन, जमिन कटान र बाढीको जोखिम बढाउने चेतावनी दिँदै आएका छन् । स्थानीय तह र प्रहरीको संयुक्त निगरानी बढाउनुपर्ने सुझाव पनि दिइएको छ ।