© २०२३
चन्द्रौटा(कपिलवस्तु), ५ पुस ।
थारु कल्याणकारिणी सभा, थरुहट थारुवान संयुक्त सघर्ष समिति कपिलवस्तुले अध्यादेश प्रमाणीकरणको माग गर्दै ¥यालीसहित कोणसभा गरेको छ । थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्य सुमित्रा थारुले सरकारसँग गरिएको ६ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरिन् ।
जिल्ला शिवराज नगरपालिका वडा नम्वर ५ मा मंगलबार चन्द्रौटामा आयोजित कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले ६ बुँदे मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन् । टिकापुर हिंसात्मक घटना नियोजित तरिकाले घटाइएको बताउँदै निर्दाेष रेशम चौधरी लगायत अन्य जेल सजाय काटिरहेका बन्दीलाई सरकारले अबिलम्ब बिना शर्त रिहा गर्नुपर्ने बताइन् ।
यसैबीच थारु समुदायले पनि आफ्नो पहिचान संरक्षण र हक अधिकारका लागि लड्ने अधिकार भएकोले सरकारले वञ्चित गर्न नपाउने समेत थारुले जिकिर गरिन् । अहिलेको सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमतिलाई निरन्तरता दिने बताइन् । यथाशीघ्र यो अध्यादेश राष्ट्रपतिबाट प्रमाणिकरणको उनले माग गर्दै टिकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत सरकार समक्ष माग गरेको सदस्य थारुले उल्लेख गरिन् ।
कोणसभामा बोल्दै थारु कल्याणकारिणी युवा सभाका केन्द्रीय सदस्य श्रीनिवास थारुले अध्यादेश राष्ट्रपतिबाट जस्ताको त्यस्तै यथाशक्य चाँडो प्रमाणिकरण गरिनुपर्ने माग गरे । २०७२ भदौ ७ गते भएको रहस्यमयी दुःखद टिकापुर घटनाको झुटा मुद्दा लगाइएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवं बन्दीहरुलाई अविलम्ब रिहाइ गर्नुपर्ने थारुले बताए । अधिकार प्राप्तको आन्दोलनको क्रममा थुप्रै थारुहरु निर्दोष हुँदा पनि जेल जीवन बिताउन बाध्य बनाइएको बताउँदै राजनीतिक मुद्दा भएकोले राजनीतिक तवरले समाधान गर्न उनले आग्रह समेत गरे ।
आफूहरुको माग कार्यान्वयन नभए सशक्त आन्दोलन गर्न बाध्य हुने संघर्ष समितिले चेतावनी दिएको छ । ¥यालीमा अध्यादेश प्रमाणीकरण गर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर, मानवताको अधिकार हाम्रो पनि बराबर, टिकापुर राजबन्दीहरुलाई निशर्त रिहा गर, हामीलाई क्षमा होइन न्याय चाहिन्छ लगायत नारा समेत लगाएका थिए ।
थारु कल्याणकारिणीसभा कपिलवस्तुका अध्यक्ष उमाशंकर थारु, थारु कल्याणकारिणी सभा बाणगंगा नगर कमिटीका अध्यक्ष भग्गु प्रसाद थारु, जिल्ला सचिव जगत बहादुर थारु लगायतले कोणसभा लाई सम्बोधन गरेका थिए ।