© २०२३
बुटवल, १८ कार्तिक ।
नेपालमा उत्पादन भएको आलुको परिकार ‘फ्रेच फ्राई’ पहिलो पटक तेस्रो मुलुक निर्यात भएको छ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेको फस्ट च्वाईस फुडस लिमिटेडबाट उत्पादन गरिएको ‘प्रिमियम फ्रोजन फ्रेन्च फ्राई’ भैरहवा भन्सार कार्यालय नाका हुँदै मंगलबार अमेरिका पठाइएको हो ।
किसानको पौरख हाम्रो गौरव नारासहित २६ जिल्लाका ३५ हजार किसानहरूलाई उत्पादन गरिएको आलुलाई प्रशोधन गरी रुपन्देहीमा उद्योग खोलिएको फस्ट च्वाईस फुडस लिमिटेड सञ्चालक कृष्ण पौडेलले बताए ।
आलु राम्रो, मिठो, स्वादिलो हुँदा यसबाट उत्पादन भएको फ्रेच फ्राई गुणस्तरीय हुँदा आवश्यक मापदण्ड पुरा गर्दा अमेरिका पठाउन लागेको सञ्चालक पौडेलले बताए । नेपाली उत्पादनलाई अमेरिका जान लाग्नु नै गर्वको विषय भएको उनले बताए ।
स्याम्पल मगाएर प्रत्येक ब्याच अनुसार डिटेल मापन गरेर मात्र माग भएको सञ्चालक कृष्ण पौडेलको दाबी छ । कलकत्ता बन्दरगाहा हुँदै ५५ दिनमा अमेरिका सामान पुग्नेछ । दुई कन्टेनर बिक्रीबाट उद्योगीलाई ४० हजार डलर प्राप्त हुनेछ ।
अमेरिका निर्यात भएको फ्रेच फ्राई ढाई किलोको प्याकेट रहेको छ । कुल ५ सय टन सम्झौता भएको छ । नेपाल सरकारको निर्यातमुखी नीति निर्यात व्यापार बढाउने अन्तरगत नेपालका उद्योगी व्यापारीहरूबाट व्यापार घाटा न्यूनीकरणमा थप मद्दत मिल्ने भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले बताए ।
किसानबाट खरिद गरी प्रशोधन गरी तयार पारिएको आलुका परिकार तेस्रो मुलुकमा पठाउन भन्सारबाट आवश्यक सहजीकरण गरिरहेको छ । नेपालको उद्योगबाट खाद्यको प्रमाणपत्र लिने, भारतीय भन्सारबाट समन्वय गर्ने, एडभान्स पेमेन्ट प्राप्त गरिसकेपछि मंगलबार पहिलो लटमा ४२ टन बराबरको दुई कन्टेनर सामग्री पठाउन लागेको हो ।
हाल २ अर्ब रुपैयाँ लगानी भएको उद्योगको प्रतिघण्टा ढाई टन उत्पादन क्षमता रहेको छ । भविष्यमा लगानी थप्ने र आलुका थप परिकार बनाउने लक्ष्य रहेको सञ्चालक पौडेलले बताए । करिब एक सय जना बढी कर्मचारी कार्यरत छन् ।