© २०२३
गुल्मी, १८ कार्तिक ।
गुल्मीको धार्मिक स्थल कुर्घाको मालिका मन्दिरमा यति बेला दर्शनार्थीहरूको घुँईचो बढेको छ ।
पूर्णिमा मेलाको अवसरमा मालिका मन्दिरमा भाकल गर्न र चिच्च्याएर वर माग्नका लागि श्रद्धालुहरूको बाक्लो उपस्थिति हुने गर्दछ । यस क्षेत्रमा पूर्णिमा मेलाको अवसरमा पूजाआजाका लागि हजारौँ श्रद्धालुहरू मालिकामा पुग्ने गर्दछन् ।
मुसिकोट नगरपालिका –६ स्थित कुर्घामा रहेको मालिका मन्दिरको भिन्नै धार्मिक आस्था र महत्त्व छ । विशेषगरि कात्तिक शुक्ल चर्तुदशीका दिनमा यहाँ आउने श्रद्धालुहरूले मालिकाको महत्वलाई झनै उजागर गर्दै आएको छ ।
त्यसका अतिरिक्त यस क्षेत्रमा विभिन्न तिथी तथा पर्वहरूमा समेत मेला लाग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्माले बताएका छन् ।
मालिकामा सञ्चालन हुने तिन दिने पूर्णिमा मेलाको अवसरमा मन्दिरमा पाठ परायण, पूजाआजा लगायत भलिबल तथा विविध सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन गरिएको पूर्णिमा मेला व्यवस्थापन समिति अध्यक्ष कृष्णहरि अर्यालले जानकारी दिए ।
पौराणिक कथन अनुसार करिब पाँच हजार वर्ष पुरानो इतिहास बोकेको मालिका मन्दिर द्वापर युगको अन्तिम समयतिर स्थापना भएको भन्ने भनाई रहेको छ । प्राचिनकालदेखि पौराणिक महत्त्व बोकेको मालिका मन्दिरमा पूजाआजा गरेपछि चिच्याएर बर माग्ने गरिन्छ ।
मालिका देवीले कान कम सुन्ने भएका कारण चिच्याएर वर माग्नुपर्ने प्रचलन रहेको स्थानीय ज्ञान हरी सापकोटाले बताए । मालीका मन्दिरमा वर मागेर भाकल गरेपछि मनले चिताएको सबै कुरा पुरा हुन्छ भन्ने जनविश्वास छ ।
यस मन्दिरमा पुग्ने मानिसहरूले वर मागेर भाकल गर्ने र उक्त भाकल गरेको कुरा पुरा भएपछि सोही ठाउँमा पुगेर आफूले भाकल गरेको बस्तु चढाउने प्रचलन छ । मालिका मन्दिरको माथिबाट दुई वटा ढुङ्गाको कापबाट निस्किएको पानीले स्नान गर्नका लागि पनि मानिसहरूको उत्तिकै घुइँचो लाग्ने गर्दछ ।
यहाँ ठुला चट्टानबाट बाह्रै महिना पानीको मूल निस्किरहन्छ । सानो पानीको कुण्ड र त्यसै कुण्डमा आफ्नै गतिमा नाँचीरहेका रङ्गीबिरङ्गी माछाहरूको दृश्य झनै सुन्दर देखिन्छ । मन्दिर परिसर वरिपरि देखिने सुन्दर प्राकृतिक दृश्यहरूले पनि मालिका मन्दिरको थप आकर्षण बढाएको छ ।
नेपालको उच्च कोटीमा रहेका धार्मिक स्थलहरू मध्ये भिन्नै महत्त्व र विशेषता भएको कारण यहाँ विशेष पर्वहरूमा श्रद्धालुहरूको घुइँचो लाग्ने गरेको हो । मालिका मन्दिरमा दर्शन एवं पूजाआजाका लागि गुल्मी लगायत अर्घाखाँची, बाग्लुङ्, प्युठान, बुटवल, पोखरा, काठमाडौँ लगायत भारतको अयोध्यासम्मबाट मानिसहरू आउने गर्दछन् ।
मालिका क्षेत्रमा माल्याश्री नामका ऋषिले तपस्या गरेको भन्ने किम्वदन्ती छ । तत्कालीन समयमा उक्त क्षेत्रमा रहेको वन जङ्गलमा जङ्गली जनावर र चराचुरुङ्गीहरूको वासस्थान रहेको भनाई छ ।
जङ्गलमा पानीको मुहान रहेको र पछि कालान्तरमा उक्त मूल सुकेपछि त्यहाँका वन्यजन्तु तथा जीवजन्तुहरूलाई पानीको ठुलो सङ्कट परेपछि देवी प्रकट भएर वर माग भन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरूले दुःख पाएको भनेर पुकार गरेपछि मालीका भगवती प्रसन्न भएर मन्दिर परिसरमा पानीको मूल फुटाएर प्राणीहरूको जीवन रक्षा गरेको भन्ने भनाइ छ ।
त्यही पौराणिक मान्यताका कारण त्यस क्षेत्रमा सयौँ वर्षदेखि चट्टानको बिचबाट निस्केको सानो जल कुण्ड अहिलेसम्म विद्यमान छ । अर्कोतर्फ श्री स्वस्थानी व्रत कथामा पनि शक्ति पीठको रूपमा मालिकाको वर्णन गरिएको पाइन्छ । त्यसै कारण साउन र माघ महिनामा मालिका मन्दिरमा बली चढाउन पाइँदैन ।
पछिल्लो समयमा मालिका मन्दिर क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिकाले सडक, खानेपानी तथा मन्दिर पुनर्निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । पूर्णिमा पर्वको अवसरमा मुसिकोट नगरपालिकाले मङ्गलवार एक दिनका लागि सार्वजनिक बिदा समेत दिएको छ ।