© २०२३
बुटवल, १७ कार्तिक ।
पोखराको पर्यटन प्रवद्र्धनसंगै भ्रमण वर्ष २०२५ लाई लक्षित गरी सुरु भएको ‘जाऊँ है बेगनास’ पोखरा प्रवर्धन कार्यक्रमका सहभागीहरूको भ्रमण टोलीले रुपन्देहीका सरोकारवालासँग अन्तरक्रिया गरेका छन् ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको समन्वयमा रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घसहित विभिन्न ब्यवसायीहरुसंग आइतबार बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
नेपाल सरकार पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोगमा लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसियसनको टोली २०२५ भ्रमण वर्ष लक्षित गरी प्रचारप्रसार गर्ने उद्देश्यका साथ बुटवलमा अन्तरक्रिया तथा पोखराको पर्यटनबारे तयार पारिएको वृत्तचित्र प्रदर्शन गरे ।
बेगनास एरियाको पर्यटकीय क्षेत्र, पुरातात्त्विक र ओझेलमा परेका तालतलैयाहरुको बारेमा तयार पारिएको १० मिनेटको वृत्तचित्र रहेको थियो ।
पोखरा लेकसाईड मात्र पर्यटकीय क्षेत्र नभई बेगनास पनि भएको लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष बिरभद्र खड्काले दाबी गरे ।
यो क्षेत्र प्राकृतिक सौन्दर्यपूर्ण रहेको भन्दै घुम्न आउन उनले आग्रह गरे । कार्यक्रममा सङ्घका अध्यक्ष माधव खनालले व्यवसायीहरू बिचमा आत्मीयता बढाउने र सहकार्य विकास हुने गरी विगतबाट नै अन्तरक्रिया कार्यक्रमहरू हुँदै आएको बताए ।
कार्यक्रममा सङ्घका प्रमुख सल्लाहकार माधव प्रसाद नेपाल, समुन्द्र जिसीले पर्यटन व्यवसायीहरूले भ्रमणको सफलताको शुभकामना दिए । पाँच दिने भ्रमणमा हिँडेको टोली बुटवलबाट बर्दिया र सुर्खेत पुगेर फर्किने छन् ।