Butwal Today

बेमौसमी वर्षाले धान डुबायो, किसान भन्छन्- भोकमरी हुने खतरा बढ्यो

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

दाङ, १६ कात्तिक ।

पाकेर थन्क्याउन लागिएको धान बालीमा अविरल वर्षाले क्षति गरेपछि दाङका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले  पाकेर थन्क्याउन लागिएको धान बालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका -६ का पवित्रा शर्माको दुई बिघा खेतमा धान काटेर भर्खरै सकिएको थियो । कात्तिक १० गते राती देखि परेको पानीले सबै धान भिजायो   । घरभित्र एक गेडा अन्न पनि भित्र्याउन नपाउँदै सबै धान खेतमै भिज्यो ।  उनले भनिन्  ,  तिहार मानेर धान काटेको स्याहार्न नपाउँदै भिज्यो ।

पाकेर थन्क्याउन लागिएको धान बालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको उनले बताइन् ।

काटेर दाइ मार्न मात्रै बाकी रहेको  धान भिजेर सोतर भएको छ”, उनले भनिन् , “प्रमुख बालीको रूपमा लगाउँदै आएको धान सबै  भिजेर खराब भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ । धानको एक गेडा पनि भित्र राख्न नपाइ सबै खेतमै भिज्यो ।

घोराही उपमहानगरपालिका -६ फचकपुरका अर्जुन चौधरीले १५ कट्ठा जमिनमा लगाएको धान सबै भिजेको बताए । भर्खरै तिहार सकिएको थियो । घरपरिवारले काट्न ढिला हुन्छ भनेर मेसिन लगाएर धान काटेको बेलुका दाउने भनेको थ्रेसरमा पालो पाइयन ।

रातिदेखि पानी परेर सबै भिज्यो। सबै मेहनत खेर भएको छ । भिजेको धानको पराल गाई बस्तुले पनि खादैनन । धानको चामल पनि कालो हुन्छ खान मिल्दैन ।  कृषकले लगाएको धान बाली पाकेर पहेँलोपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भन्डारेले  जानकारी दिए  ।

“यस वर्ष रोपाइँ गर्नका लागि समयमा वर्षा भएको थियो । समयमै रोपाइँ भएकाले उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको थियो । तर, केही दिनदेखि परेको अविरल वर्षाले ठुलो क्षति गरेको छ”, उनले भने, “क्षतिको विवरण जुटाउने काम भइरहेको छ ।

अहिले नै यति क्षति भयो भन्न सकिने अवस्था छैन । जिल्लामा धान खेती ३७ हजार दुई सय २५ हेक्टरमा  भएको थियो । बेमौसमी वर्षाले ठुलो क्षति गरेपछि उत्पादनमा गिरावट आउने निश्चित भएको कृषकहरूले बताएका छन् ।

धान भिज्न बाट जोगाउन खेतमै त्रिपालले तोपेका थिए तर पनि धान जोगाउन नसकिएको किसान बताउँछन् । जिल्लाका अधिकांश कृषकले पाकेर पहेँलपुर भएको धान बाली थन्क्याउनका लागि ढालेर खेतमै सुकाएका थिए ।

वर्षभरि उपभोग गर्नका लागि थन्क्याउन ढालेर खेतको आँठामा सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको कृषकहरूले जनाएका छन् । लगातारको वर्षाले धान बालीमा ठुलो क्षति गरे पनि गहुँ, फलफूल, सागसब्जीलगायतका हिउँदे बालीलाई केही राहत मिलेको कृषकहरूले बताएका छन् ।

यद्यपि, धान बाली जिल्लाको प्रमुख बाली भएकाले अविरल वर्षाका कारण धान बालीमा ठुलो क्षति हुँदा यस वर्ष जिल्लामा भोकमरी हुने निश्चित भएको बताइएको छ ।