© २०२३
नेपालगन्ज, १६ कात्तिक ।
बाँकेको राप्ती सोनारी अस्पतालमा आजदेखि ३ दिने निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सुरु भएको छ ।
नेपाल आँखा कार्यक्रम तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा राप्ती सोनारी गाउँपालिकाले आयोजना गरेको शिविरमा २ सय ५० जनाको मोतीबिन्दु शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार कार्तिक १० गतेदेखि गाउँपालिकाका सबै ९ वडामा गरिएको निःशुल्क आँखा जाँच तथा छनोट शिविरबाट छनौट भएका बिरामीहरूको शल्यक्रिया आजदेखि सुरु गरिएको हो ।
शिविरका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट डाक्टर रेखा पुन, डाक्टर नम्रता र विदेशी विशेषज्ञ डाक्टर ओराक सहितको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख केसीले जानकारी दिए । शिविर कार्तिक १८ गतेसम्म सञ्चालन हुनेछ ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारूले भनिन् — “२ सय ५० जना मोतीबिन्दु प्रभावितले एउटै स्थानमा आएर निःशुल्क शल्यक्रिया पाउनु यो हाम्रो गाउँपालिकाको एक उपलब्धि हो ।”
उपाध्यक्ष थारुका अनुसार लामो समयदेखि आर्थिक कमजोरीका कारण दुख पाउँदै आएका नागरिकका लागि यो शिविर ठुलो राहत बनेको छ । उनले थपिन् — “पहिले मोतीबिन्दु शल्यक्रियाकै लागि टाढासम्म जानुपर्थ्यो, शुल्क तिर्नुपर्ने बाध्यता थियो ।
पालिकाको पहल र सहकार्यले अब त्यही उपचार यहीँ गाउँमै निःशुल्क पाइने भयो ।” आँखा विशेषज्ञहरूको भनाइअनुसार एक व्यक्तिको मोतीबिन्दु शल्यक्रिया गर्दा सामान्यतया ८ देखि १० हजार रुपैयाँ खर्च लाग्थ्यो । तर, यस शिविरमा उपचार पूर्ण रूपमा निःशुल्क गरिएको छ ।
शिविरमा सबैभन्दा पहिले ९५ वर्षीया टेन्जी थारूको सफल शल्यक्रिया गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका सबै वडाध्यक्षलगायत अन्य स्थानीय जनप्रतिनिधि, राप्ती सोनारी अस्पताल व्यवस्थापन समिति, तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
यसअघि पनि राप्ती सोनारी अस्पताल परिसरमा रहेको ग्रामीण आँखा केन्द्रमार्फत विभिन्न आँखा सम्बन्धी शिविर सञ्चालन हुँदै आएको र यसले स्थानीयलाई स्वास्थ्य सेवा पहुँचमा सघाएको गाउँपालिकाले जनाएको छ । सेवा पाएका सर्वसाधारणले पनि निःशुल्क उपचार पाउन पाउँदा खुलेर खुसी व्यक्त गरेका छन् ।