© 2026
काठमाडौं, १६ कात्तिक ।
आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार नेप्से ३४ अंकले बढेको थियो, र आइतबार पनि सकारात्मक प्रदर्शन कायम रह्यो ।
वित्तीय प्रणालीमा घट्दो ब्याजदर र अधिक तरलताले धितोपत्र बजारमा लगानी वृद्धि भएको देखिएको छ । फागुनमा तोकिएको निर्वाचन हुने नहुने द्विविधाका कारण लगानीकर्ताले समयमै लगानी गर्न नसकेका थिए । तर प्रधानमन्त्रीले चुनावका लागि राजनीतिक परामर्श बढाएसँगै लगानीकर्तामा सकारात्मक धारणा देखिएको छ ।
ब्याजदर न्यून भए पनि कर्जाको माग बढ्न नसकेको अवस्थामा, लगानीकर्ताले नेप्सेमा अवसरको रूपमा लगानी गर्न थालेको देखिन्छ ।
आइतबार कारोबार सुरु हुनासाथ नेप्से निरन्तर बढ्यो र कारोबार बन्द हुँदा पनि वृद्धि कायम रह्यो । कारोबार सुरु हुँदा २६००.३८ अंकमा रहेको नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ४.४१ अंकले बढेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक सकारात्मक रहे । समग्र नेप्से सूचक १.१८ प्रतिशतले बढेको छ । नेप्से अनुसार आइतबार २ सय ५ कम्पनीको सेयर मूल्य बढेको, ४२ कम्पनीको घटेको, र ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकमा बैंकिङ ४.०२, विकास बैंक ४९.६३, वित्त ११६.०८, होटल ७५.९४, जलविद्युत ३९.९५, लगानी ०.८४, जीवन बीमा ५५६.८६, उत्पादन मुलक ७०.३५, माइक्रोफाइनान्स ६७.८८, समुहिक लगानी कोष ०.०२, निर्जीवन बीमा १४५.७४, अन्य समूह २९.१४ अंकले बढेका छन् । तर व्यापार समूह ४२.५८ अंकले घटेको छ ।
आइतबार नेप्सेमा ३१९ कम्पनीको ६८,११२ कारोबारबाट ९ अर्ब २० करोड ३१ लाख रुपैयाँ बराबरका २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम गत बिहीबारको ५ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै हो ।
आइतबार सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, पिपुल्स पावर, तेह्रथुम पावर, गुहेश्वरी मर्चेन्ट बैंकका सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
आज धेरै कारोबार भएका पाँच कम्पनी हुन्: हिमालयन बैंक (संस्थापक), युनियन हाइड्रोपावर, बुटवल पावर, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर ।