© २०२३
सल्यान, १४ कार्तिक ।
ब्राउन सुगर, नगद, मोटरसाइकल र मोबाइलसहित चार युवा सल्यानमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानले शारदा नगरपालिका, १ श्रीनगरबाट १५ पुरिया लागु औषध ब्राउन सुगर र अन्य सामग्री सहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डाक्टर हेम बहादुर केसीका अनुसार पक्राउ पर्नेहरूमा शारदा नगरपालिका, १ बस्ने वर्ष २१ का प्रज्वल के.सी., वर्ष २४ का नुर आलम, वर्ष २६ का सुरज रोका र प्युठान मल्ल रानी गाउँपालिका, २ घर भई हाल शारदा नगरपालिका, १ बस्ने वर्ष २४ का सन्दीप नेपाली रहेका छन् ।
उनीहरूको साथबाट लागु औषध ब्राउन सुगर १५ पुरिया (जम्मा ३ ग्राम), मोबाइल फोन ६ थान, नगद २४ हजार ५१० रुपियाँ तथा रा.४ प. ८६३०, रा.२ प. १९ र रा.४ प.३५ नम्बरका तीन वटा मोटरसाइकल समेत बरामद गरिएको केसीले बताए ।
श्रीनगरमा चेकजाँच गर्ने क्रममा यही कात्तिक १२ गते राति करिब ८ः४० बजे उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।