© 2026
गुल्मी, १४ कार्तिक ।
गाउँमा उजाड बनेका बाँझा र पाखा बारीहरू यति बेला अकबरे खुर्सानीले हराभरा बनेको छ । सुख्खा डाँडामा पनि यति बेला अकबरे खुर्सानी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् गुल्मी धुर्कोटका ताम्राकार दम्पती ।
जाँगर हुने र पौरख गर्ने हो भने त्यही सुख्खा डाँडा र ढुङ्ग्यानलाई पनि कृषिले उर्वर बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् धुर्कोट गाउँपालिका–१ नयाँगाउँ स्थित ओख्रेनीका कृषक दम्पती चन्द्र ताम्राकार र मीना ताम्राकारले ।

सिचाइको पर्याप्त सुविधा नहुँदा नहुँदै पनि गत तिन वर्षदेखि खुर्सानी खेती गरेर त्यही सुख्खा डाँडोलाई अहिले अकबरे खुर्सानीले हराभरा बनाएको छ ।
ओख्रेनीका ताम्राकार दम्पतीले गरेको रहरलाग्दो अकबरे खुर्सानी खेतीले सबैको मन लोभ्याई दिएको छ । “जहाँ इच्छा, त्यहाँ उपाय” भनेझैँ भित्रैबाट काम गर्ने जाँगर र इच्छाशक्ति भयो भने गाउँघरमै बसेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण ताम्राकार दम्पतीले प्रस्तुत गरेका छन् ।
ताम्राकार दम्पतीले यति बेला ७० रोपनी जग्गामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आइरहेका छन् । उनीहरूले ओख्रेनी कृषि तथा पशुपक्षी फर्म मार्फत अहिले मुख्य गरी तरकारी र पशुपालनमा समेत लागेका छन् । ताम्राकार दम्पतीले गरेको अकबरे खुर्सानीको यति बेला गुल्मीदेखि बाहिरी जिल्लासम्म अत्यधिक माग हुने गरेको छ ।
अकबरे खुर्सानीको रूपमा परिचित ताम्राकारको बारीमा यति बेला पाकेका खुर्सानी टिप्न भ्याईनभ्याइ छ । दैनिक सातदेखि आठ जना मानिसहरूको काम बिहानदेखि बेलुकीसम्म खुर्सानी टिप्दैमा बित्ने गर्दछ । उनीहरूले २०० क्वीटल खुर्सानी बजार पठाउने लक्ष्य राखेका छन् ।
यस पटक ४० लाख बराबरको अकबरे खुर्सानी बिक्री गर्ने योजना रहेको चन्द्र ताम्राकारले बताएका छन् । बजारमा अकबरे खुर्सानीको बढी माग हुने भएका कारण उत्पादित गरेको खुर्सानी बिक्री गर्न खासै समस्या छैन । पाकेको अकबरे खुर्सानी अहिले दुई सय २० रुपैयाँमा धमाधम बिक्री भइरहेको छ ।
चन्द्र ताम्रकार रोजगारीको लागि विदेश गए पनि समय मिलाएर बेलाबेलामा घरमा आएको समयमा श्रीमतीसँगै कृषि कर्ममा लागेका हुन । उनकी श्रीमती मिना ताम्राकारले सबै चाँजोपाँजो र बन्दोबस्त मिलाउँदै आइरहेकी छन् ।
गाउँपालिकाले पनि अकबरे खुर्सानीको बजारीकरणका लागि ढुवानी, टनेल निर्माण, सिँचाई र तालिम लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । ताम्राकारको बारीमा अहिले ३० हजार अकबरे खुर्सानीका बोटहरू रहेका छन् ।
सबै बोटहरूले राम्रो उत्पादन दिइरहेका छन् । उनको बारीमा खुर्सानीसँगै टमाटर, बन्दा र फूल गोपी, लौका, करेला, काँक्रा, प्याज, लगायतका तरकारीहरू समेत उत्पादन हुँदै आएको छ । सिँचाइको पर्याप्त सुविधा भएमा आगामी दिनमा बाँकी रहेका बाँझा बारी र कान्लाहरूमा सुन्तला खेती गर्ने उनको योजना छ ।
ताम्राकारले गरेको कृषि कर्मलाई सहयोग गर्ने उद्देश्यले जिल्ला समन्वय समितिदेखि स्थानीय गाउँपालिका, कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले ताम्राकारको फर्ममै पुगेर अनुगमन गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
ताम्राकारलाई धुर्कोट गाउँपालिकाले पनि यस अघि संविधान दिवसको अवसरमा उत्कृष्ट कृषकको रूपमा सम्मान समेत गरेको थियो ।