Butwal Today

औद्योगिकग्रामको काम अलपत्र

सम्भाव्यता अध्ययन विना नै खोला किनारामा औद्योगिक ग्राम बनाउने भनी थालिएको काम अहिले अलपत्र परेको हो ।
१३ कार्तिक २०८२, बिहीबार
अ+
अ-

नवलपरासी, १३ कार्तिक ।

खजुरा खोला कटनाको जोखिममा रहेको जिल्लाका बर्दघाट नगरपालिकाको अगाडि बढाएको औद्योगिक ग्रामका काम अलपत्र परेका छन् ।

बजेट र योजना पाउँदैमा जहाँसुकै फाल्ने र अलपत्र बनाउने अहिलेका जनप्रतिनिधिमा अदूरदर्शिता देखिने गरेको आरोप समेत स्थानीयको रहेको छ । बजारसँग जोडिएको र सर्वसुलभ पहुँचको आधार नै नभएको खोला जोखिममा परेको औद्योगिक ग्राममा विगतमा केही कामहरू भए पनि अहिले अलपत्र देखिने गरिएको स्थानीयको भनाइ रहेको थियो ।

उक्त औद्योगिक ग्राम खजुरा खोला कटानको जोखिम बढ्दै छ । खोलामा हुने गरेको चोरी तस्करी नियन्त्रण नहुँदा र स्थानीय सरकार औद्योगिक ग्रामप्रति गम्भीर नहुँदा खोला कटानले उक्त औद्योगिक ग्राम खोला कटानको जोखिम बढ्दै गएको हो ।

खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरी ती स्थानमा औद्योगिक ग्राम बनाउने गरी कार्य अगाडि बढाएको थियो । सो क्षेत्रमा पर्खाल निर्माण गर्ने केही काम भएका पनि थिए ।

सो औद्योगिक ग्राम के कतिको उपयुक्त स्थान हो भन्ने बारे स्थानीय प्राविधिकहरूले पहिला वातावरणीय प्रभाव मूल्याङ्कन (आईइए) गराउन पनि सुझाव दिएका थिए, तर आईइए नहुँदै औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनेको कुरा पनि विवादमा आएको थियो ।

लामो समय पछि डिपिआर अनुसार औद्योगिक ग्रामको काम शुभारम्भ भएको थियो । तर अहिले खजुरा खोलाको निसाना औद्योगिक ग्राम तर्फ नै देखिएको स्थानीयले बताएका छन् ।

औद्योगिक ग्राम तर्फ खोला पस्दै जाँदा भविष्यमा सो औद्योगिक ग्राम कतिको सुरक्षित होला भन्ने आशङ्का स्थानीयमा छ । यसबारे नगरपालिकाले पुनः विचार गर्नुपर्ने स्थानीयले आवश्यकता औँल्याएका छन् ।

त्यसैमा नगरपालिकाले खोलाको ठेक्का निकासी पनि गर्न खोजेको हुँदा झन् औद्योगिक ग्राम सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता पनि स्थानीयले देखाएका थिए । औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको छ ।

नगरपालिकाले गर्ने काम अगाडि बढाएको छ, सो क्षेत्रमा उद्योग सञ्चालन गर्नेलाई निरन्तर प्रोत्साहित गर्दै लैजाने काम पनि भइरहेको छ । तर खजुरा खोलाको कटानले औद्योगिक ग्रामको सुरक्षा चुनौती पनि थपिँदै आएको एक स्थानीयले देखाए ।

यदि यस्तै हो भन्ने करोडौँ लगानी बालुवामा पानी जस्तै देखिन सक्ने उनको भनाई थियो । नगरपालिकाले संरचना बनाएर पूर्वाधार उपलब्ध गराउने हो । पूर्वाधार बनाउने तर उद्योग सञ्चालन नहुने हो भने नगरपालिकाको लगानी खेर जान सक्छ, त्यो भएर यस क्षेत्रमा उद्योग «सञ्चालनकर्तालाई पनि खोला कटानले सशङ्कित छन् ।

पचास वर्षको लक्ष्य राखेर औद्योगिक ग्रामको काम भई रहेको सो क्षेत्रमा पर्खाल निर्माण गरी केही पूर्वाधारका काम पनि निर्माण भएका छन् ।

औद्योगिक ग्रामको निर्माणमा केही लगानी नगरपालिकाको भए पनि त्यसको निर्माण कार्य सङ्घीय सरकारले नै ठेक्का लगाई काम गराउदै आएको नगरपालिकाका योजना अधिकृत पुष्कर काफ्लेले बताएका थिए । बजेट निकासा र भुक्तानीले होला काम ढिलो भएको,अलपत्रबारे आफूले बुझेर बताउने सुनाएका थिए ।

औद्योगिक ग्रामको डिपिआर अनुसार भ्याट सहितको कुल ३१ करोड ५७ लाख ८४ हजार १ सय ४६ रुपिया लागतको औद्योगिक ग्राम पूर्वाधार निर्माण हुने छ । जसमा प्रशासनिक ब्लकमा ५ करोड ८० लाख ३४ हजार ३ सय ८० रुपैयाँको लागत निस्केको छ ।

क्यान्टिन ५८ लाख ९० हजार ६ सय ४ रुपियाँ, सुरक्षा गार्ड भवन १४ लाख ६८ हजार ४ सय ६२,प्रहरी क्वाटर ३१ लाख ४६ हजार २ सय २२,डे केयर सेन्टर ४३ लाख ४८ हजार ८ सय ६७, गन्जेबो २ लाख ४७ हजार ८ सय २६, चार वटा शौचालयका लागि १६ लाख ७२ हजार ३ सय ८३, गार्डपोष्ट १ लाख ४५ हजार ४ सय ९१ रहेको छ ।

त्यसै गरी प्रवेशद्वार ६ लाख २९ हजार ९ सय ४९, बाउण्डरीवाल ३ करोड ७३ लाख ९१ हजार २ सय ३३,सडक २ करोड ३२ लाख ८१ हजार २ सय ४० खोला तटबन्ध ४ करोड १२ लाख ६३ हजार ६ सय ९९, सौन्दर्यीकरण १५ लाख १० हजार ७ सय ६३, ढल २ करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाइ प्लम्गिँ पानी आपूर्ति १ करोड ३१ लाख ५२ हजार ३५,विद्युतीकरण कार्य १ करोड ३५ लाख ७२ हजार १ सय ७५, ओभरहेड पानी टंकी ४९ लाख २९ हजार १ सय १६ गरी विभिन्न शीर्षकमा बजेट प्रस्ताव गरिएको छ ।

औद्योगिक ग्रामको डिपिआर गर्ने कार्य डि.आर.एस.डब्लपर्स एण्ड डिजाइन प्रालि काठमाडौँले गरेको थियो । नगरपालिकाले सबै संरचनाको निर्माण प्रश्चात प्रत्येक वर्ष सो औद्योगिक ग्राममा कृषक,उद्यमी,महिला तथा अन्य उद्योगका लागि उद्योग वाणिज्य सङ्घसँग समन्वय गरी उद्योगको स्थापना गर्न प्रोत्साहन गरिने छ ।

५० वर्षमा सो क्षेत्रमा एक खर्ब भन्दा बढी लगानी भित्र्याउने लक्ष्य समेत औद्योगिक ग्रामको रहेको छ । दीर्घकालीन योजना अनुसार यो काम गर्न थालिएको हो । व्यवस्थित र औपचारिक रूपमा औद्योगिक ग्राम घोषणा गरी त्यसको डिपिआर समेत बनाई काम अगाडी बढाए पछि अहिले सो कार्यमा ढिलाइ भएको हो,कि योजना नै अलपत्र परेकोबारे स्थानीयले अनभिज्ञता प्रकट गर्दै आएका छन् ।

बर्दघाट नगरपालिका लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा प्रवेश गर्ने नाका पनि हो । औद्योगिक ग्रामलाई पहाडको छेउमा राखिएको छ । प्रदूषणलाई मध्यनजर राखेर बस्ती देखी टाढा राखिएको उनको भनाई थियो ।