© २०२३
गुल्मी, १२ कार्तिक ।
जिल्लामा पछिल्लो समयमा स्थानीय तहहरूमा जीपलाइन र स्काई साइक्लिङ खेलप्रतिको आकर्षण बढ्दै जान थालेको छ । जसका कारण स्थानीय युवादेखि पाका उमेर समूहसम्मका व्यक्तिहरूको यस खेलमा रुचि बढ्न थालेको हो ।
जिल्लामा स्थानीय पालिकाहरूले साहसिक खेलको रूपमा रहेको जिपलाइन र स्काई साइक्लिङ निर्माण गर्न लाखौँ रकम खर्चिन थालेका छन् । जिल्लामा पहिलो पटक छत्रकोट गाउँपालिकामा जीपलाईन निर्माण गरेको थियो ।
छत्रकोट गाउँपालिका –३ अन्तर्गत रहेका दुई वटा महत्त्वपुर्ण धार्मिक स्थल चोयँगाको छत्र देवालय मन्दिर र लुम्छाको भगवती मन्दिर जोड्ने गरी एक हजार ८० मिटर लामो जीपलाइन निर्माण गरिएको छ । छत्रकोट गाउँपालिकाले करिब एक वर्षदेखि जीपलाइन सञ्चालनमा ल्याएको छ ।
‘रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटले पर्यटकीय स्थानहरूलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै लैजान थालेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
गाउँपालिका र लुम्बिनी प्रदेशको समपूरक ८६ लाख ७३ हजार एक सय ४४ रुपैयाँ लागतमा उक्त जिपलाइन निर्माण गरिएको हो ।
पछिल्लो पटक मदाने गाउँपालिकाले पनि जिपलाइन र स्काई साइक्लिङ निर्माण गरिसकेको छ ।
मदानेको वडा नम्बर ७ स्थित भनभनेको रोल्मा तिखेचुलीमा पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत करिब तीन करोड लागतमा जीपलाइन र स्काई साइक्लिङसहित पर्यटकीय पूर्वाधार निर्माण गरिएको हो ।
सालझण्डी–ढोरपाटन सडक, मदनभण्डारी राजमार्ग र पहुँच मार्गको नजिकै पर्यटकीय क्षेत्रको रूपमा रहेको कङ्के देउरालीलाई समेत जोडेर पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको मदाने गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुँवरले बताएका छन् ।
गुल्मी, अर्घाखाँची र प्युठानको सीमा नजिकै भनभनेको रोल्मा तिखेचुली पर्यटन क्षेत्रको रूपमा रहेका कारण जिपलाइन र स्काई साइक्लिङलाई व्यावसायिक रूपमा अघि बढाउन लागेको अध्यक्ष कुँवरले बताए । मदानेमा ७४ लाख २५ हजार २९२ रुपैयाँ लागतमा ३२० मिटर जिपलाइन र ९० मिटर डवल स्काई साइक्लिङ निर्माण गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिएकी छन् ।
त्यसै गरी रेसुङ्गा नगरपालिकाले पनि धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरा क्षेत्रमा एक करोड २५ लाख रुपैयाँको लागतमा जीपलाइन र स्काई साइक्लिङ निर्माणको काम अन्तिम चरणमा पुराएको छ ।
उक्त क्षेत्रमा ४२५ जिपलाइन र १८० मिटर स्काई साइक्लिङ निर्माणको काम अन्तिम चरणमा पुगिसकेको हुँदा अब चाँडै सेवा सुचारु गर्ने तयारी गरिरहेको रेसुङ्गा नगरपालिका प्रमुख खिल ध्वज पन्थीले बताएका छन् । जीपलाइन र स्काई साइक्लिङले धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गासँगै जिल्लाको पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने नगर प्रमुख पन्थीले बताए ।
रेसुङ्गा नगरपालिकाले सुरु गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानलाई थप टेवा पुग्ने विश्वास गरिएको छ । रुरुक्षेत्र गाउँपालिकाले पनि स्याङ्जाको काल गण्डकी गाउँपालिकासँगको साझेदारीमा रिडीको देवदत्त पार्कबाट स्याङ्जाको हनुमानबाटीका जोड्ने गरी जीपलाइन निर्माणको लागि डिपिआर समेत तयार गरिसकेको जनाएको छ ।
जिल्लामा पछिल्लो समय स्थानीय पालिकाहरूले कृषि, पशुपालन र ग्रामीण पर्यटन क्षेत्रको माध्यमबाट आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने जमर्कोमा जुट्न थालेका छन् ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार अन्य पालिकामा गरिएको सञ्चालन प्रक्रिया हेर्दा पालिकामा आर्थिक भार मात्र पर्ने र एक्लै सञ्चालन गर्न नसक्ने अवस्था छ । आर्थिक भार कम गर्न निजी क्षेत्रले सञ्चालन गर्ने जिम्मा लिएर सम्झौता गरिसकेपछि मात्र ठेक्का प्रक्रियामा जान सकिने ज्ञवालीको भनाइ रहेको छ ।
जिपलाईनको कुल लागत एक करोड पाँच लाख ४९ हजार रुपैयाँ रहेको छ । जसको लम्बाई ५ सय ५० मिटर रहेको छ । पालिकाले त्यसका लागि आवश्यक समन्वय र सहकार्य रुरुक्षेत्र गर्ने गरी कार्य अगाडि बढाएको छ ।