© २०२३
म्याग्दी, ११ कार्तिक ।
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसी भैलो खेलेर सङ्कलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् ।
तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट रु. दुई लाख गाउँमा सडक निर्माण गर्ने योजनामा सहयोग गरेका हुन् । गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो ।
देउसी भैलोमा सङ्कलन नभएको रु. चार लाख नौ हजार रकममध्ये दुर्गम र विकट बस्तीको रूपमा परिचित गुर्जा गाउँमा सडक सञ्जालको पहुँच पु¥याउने योजनालाई रु. दुई लाख सहयोग गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताइन् ।
गाउँमा छिटो मोटर बाटो जोडियोस् भन्ने उद्देश्यले आमा समूहको बैठकबाट निर्णय गरेर उक्त सहयोग गरिएको उनले जानकारी दिइन् ।
आइतबार आयोजित एक कार्यक्रममा आमा समूहका अध्यक्ष छन्त्यालले वडा सदस्य द्वय गुनराम छन्त्याल र के आई सिंह छन्त्याललाई उक्त रकम हस्तान्तरण गरेकी छन् ।
आमा समूहले मौलिककला र संस्कृतिको जगेर्नाका लागि सञ्चालन गरेको मौलिक देउसी भैलोबाट सङ्कलन गरेको दान रकमलाई सडक निर्माणको लागि सहयोग गरी नमुना काम गरेको वडा सदस्य गुनराम छन्त्यालले बताए ।
उनका अनुसार, उक्त रकम वडा कार्यालयमार्फत सडक निर्माण योजनाको अगुवाइ गरिरहेको गुर्जा विकास मञ्च पोखरालाई उपलब्ध गराइनेछ ।
धवलागिरि गाउँपालिका–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसी माने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पु¥याउन करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी रहेको छ ।
यसअघि पनि सरकारी बजेटको अतिरिक्त स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले गाउँमा सडक पु¥याउने योजनामा आन्तरिक स्रोत जुटाएर समेत सडकको ट्र्याक विस्तारको काम गर्दै आएका छन् ।
चालु आर्थिक वर्षभित्र गुर्जा गाउँमा सडकको पहुँच पु¥याउने लक्ष्यकासाथ गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट विनियोजन भएको बजेटलाई परिचालन गर्ने तयारी गरिएको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
उहाँका अनुसार लुलाङ–गुर्जा सडकका लागि यस वर्ष सङ्घीय सरकारले समपूरक बजेटबाट रु. एक करोड ४० लाख, गाउँपालिकाले समपूरक साझेदारी बजेट रु. ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु. तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।