© २०२३
काठमाडौं, ९ कात्तिक ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सुन आयात उच्च दरले वृद्धि भएको छ । चालु आवका पहिलो तीन महिना (साउन–असोज) मा मात्रै ६ सय ६ किलो सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १ सय १३.५ किलो सुन आयात भएको थियो । तर, चालु आवको पहिलो त्रैमासमा करिब ६ सय १ किलो काँचो सुन र करिब ५ किलो सुनका गरगहना आयात भएका छन् ।
गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । पछिल्लो समय बजारमा सुनको माग तीव्र रूपमा बढ्दा आपूर्ति घटेको र अभाव सिर्जना भएको थियो । त्यही कारण सरकारले सुन आयात कोटा पनि बढाएको छ ।
गत आवमा सुन आयात कोटा सीमित थियो । साथै, आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण लगानीकर्ताले सुनमा लगानी घटाएका थिए, जसका कारण त्यस वर्षको पहिलो त्रैमासमा सुन आयात कम भएको देखिन्छ ।
तर, चालु आवमा विदेशी मुद्रा सञ्चिति सुधारिएपछि सुनमा लगानीतर्फ पनि पूँजी परिचालन भएको छ । सुनको मूल्यमा आएको निरन्तर वृद्धि र स्थायित्वले लगानीकर्तालाई थप आकर्षित गरेको देखिन्छ । यसले सुन आयात बढ्नमा महत्वपूर्ण भूमिका खेलेको भन्सार विभागको मूल्यांकन छ ।
हाल सुन आयातको दैनिक कोटा २० किलोबाट बढाएर २५ किलो पुर्याइएको छ । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरी गहनाका रूपमा सर्वसाधारणमा बिक्री गर्ने गरेका छन् ।
चालु आवको पहिलो त्रैमासमा मात्रै करिब १० अर्ब २५ करोड रुपैयाँ बराबरको काँचो सुन आयात भएको छ । त्यसबाट सरकारले करिब १ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ ।
त्यस्तै, ७ करोड १५ लाख रुपैयाँ बराबरका सुनका गरगहना आयात भएका छन्, जसबाट सरकारले करिब ३४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।