© २०२३
काठमान्डौ, २ कार्तिक ।
यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्को मिति उल्लेख गरिने भएको छ ।
शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल संवत् ११४६ नयाँ वर्षको दिन आगामी ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा शङ्खधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा त्यसको औपचारिक घोषणा गर्ने गरी सहमति भएको जानकारी दिइयो ।
प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि सहमति बनेको र बुधबारको कार्यक्रममार्फत औपचारिक घोषणा गरिने तयारी रहेको छ । उनले भने, “नेपाल संवत् केवल नेवारहरूको मात्र होइन, सम्पूर्ण नेपालीहरूको मौलिक संवत् हो । यसबारेमा प्रधानमन्त्रीसँग छलफल भयो र उद्घाटन कार्यक्रममा औपचारिक घोषणा गरिने छ ।”
कार्यक्रमका तयारीको जानकारी प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले दिएका छन् । उनले शङ्खधर साख्वाःको योगदान, नेपाल संवत्को महत्त्व र यसलाई कार्यान्वयनमा ल्याउने पहलका साथै देश तथा विदेशमा शालिक स्थापना गर्ने काम भइरहेकामा समेत प्रकाश पारेका छन् ।