© २०२३
गुल्मी, ३० असोज ।
चाडबाड सुरु भएसँगै घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लामा बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ । कार्यालयले हालै मुसिकोट नगरपालिका भित्र विभिन्न ४८ वटा पसलमा बजार अनुगमन गरेको छ ।
चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको हित र कालोबजारी नियन्त्रणका लागि अनुगमन कार्यलाई सक्रियता दिइएको कार्यालयले जनाएको छ ।
कार्यालयद्वारा गरिएको अनुगमन टोलीले नगरपालिका भित्रका ६ वटा वडाहरूमा खाद्य सामग्री, फलफूल, किराना, मासु पसल, हार्डवेयर, मोबाइल तथा औषधि पसलहरूमा मूल्य सूची, म्याद सकिएका सामान, बिलिङ् प्रणाली र दर्ता प्रमाणपत्र जस्ता विषयमा निरीक्षण गरेको थियो ।
अनुगमनको क्रममा केही पसलमा मूल्य सूची टाँस नगरेको, बिल नदिएको र म्याद समानहरू बिक्रीका लागि राखिएको, खाद्य तथा मासुजन्य वस्तुहरू एउटै पसलमा राखेको, वर्षौँदेखि पसलहरू नवीकरण तथा दर्ता नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए ।
कार्यालयले विशेषगरि चाडपर्वका बेला उपभोक्ता ठगिन नपाउन र बजार मूल्यमा एकरूपता होस भन्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिएको हो । उनले उपभोक्ताको हकहित विपरीत गतिविधि गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कारबाही समेत गरिने जनाएका छन् ।
अनुगमनको क्रममा बरामद गरिएका सामग्रीहरूलाई स्थानीयहरूको रोहवरमा नष्ट गरिएको बताइएको छ । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाका प्रतिनिधि, मुसिकोट उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकायका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यालयले यसअघि जिल्लाको धुर्कोट गाउँपालिका विभिन्न पसलहरूबाट एक लाख २१ हजार ३६८ रुपैयाँ बरावरका अखाद्य बस्तुहरू बरामद गरी नष्ट गरेको थियो । व्यवसायीहरूलाई अनुगमनको क्रममा पटक पटक सुझाव दिँदा पनि अटेर गर्ने र बेवास्ता गर्नेहरूको हकमा उनीहरूको सामान बरामद गरिएको अर्यालले बताए ।
उपभोक्ताहरूबाट सूचना र गुनासा आउन साथ तत्काल उक्त ठाउँमा पुगेर अनुगमन गर्ने गरिएको बताइएको छ ।