© २०२३
नेपालगन्ज, २९ असोज ।
नेपालगन्ज उपमहानगरपालिका–१३ का कुम्हार समुदायका घर–आँगनमा अहिले माटोको सुवास छरिएका छन् । बिहान सबेरै घाम झुल्किन नपाउँदै उनीहरूका हातमा माटो मोलिने र साँझ नढल्केसम्म दियो, कलश, ठेकी र पूजा सामग्री बन्ने क्रम रोकिँदैन ।
छठ र दीपावली नजिकिँदै गर्दा उनीहरूका हात अझ छिटो चल्न थालेका छन् । बजारमा माटाका भाँडाकुँडा, कलश, डिबिया र दियोको माग यति तीव्र बढेको छ कि अर्डर पु¥याउन पनि हम्मे हम्मे परेको छ ।
नेपालगन्ज–१३ का साबित कुम्हार आफै भन्छन्, “माटाका सामग्री पूजापाठका लागि शुद्ध र पवित्र मानिन्छ । छठ र दीपावलीमा त माटोको भाँडै चाहिन्छ । अहिले त माग सम्हाल्नै गाह्रो छ ।”
उनका छेउमै रहेका अर्का कुम्हार निर्मल पनि मुस्कुराउँदै भन्छन्, “छठ आउँछ भने हाम्रो घरमा पनि पर्व आउँछ । बिहानदेखि बेलुकीसम्म काम गर्छौँ, नत्र माग पुर्याउन सकिँदैन ।” निर्मलका अनुसार उनले दैनिक करिब एक हजार माटाका दियो बनाउँछन्, जुन नेपालगन्ज र आसपासका बजारमै खपत हुन्छ ।

दियोसँगै ठेकुवा राख्ने भाँडा, कलश, धूप दानी र डिबियाको पनि माग अहिले निकै बढेको छ । वर्षभरि माटोमै जीवन चलाउने यी कुम्हारहरूका लागि दीपावली र छठ विशेष अवसर हुन् । तर उनीहरू भन्छन् — “मेहनत धेरै, आम्दानी थोरै छ ।”
निर्मलको पीडा छ — “बजारमा गएर बेच्ने ठाउँ हुँदैन । व्यापारीलाई दिए पनि दाम थोरै पाउँछौँ ।” बजारमा अहिले प्लास्टिक र पितलका दियो–कलश सजिलै पाइने भएकाले परम्परागत माटाका वस्तुको माग पहिलेभन्दा घटेको छ । तर धार्मिक आस्थाले भने अझै पनि माटोको स्थान जोगाइरहेको छ ।
नेपालगन्जका धर्म तथा संस्कृति जानकार विष्णु कुम्हाल भन्छन्, “छठमा माटोको कलश र दियोबिना पूजा अधुरो हुन्छ । यसले घर र मन दुवै पवित्र बनाउँछ भन्ने विश्वास आज पनि कायम छ ।” कुम्हार समुदायका लागि यो पेसा केवल रोजगारी होइन, पहिचान हो ।
उनीहरूको हातले बनेका माटाका दियोले गाउँ–सहर उज्यालो पार्छन्, तर कहिलेकाहीँ उनीहरूको जीवन भने अँध्यारोमै रहन्छ । उनीहरू चाहन्छन् — सरकार र समाजले परम्परागत सीपलाई संरक्षण गरिदियोस्, नयाँ पुस्ताले माटोसँगको सम्बन्ध नटुटोस् ।
साबित भन्छन्, “हामीलाई पनि स्रोतसाधन उपलब्ध भयो भने यो सीप नखोसी सन्तानलाई हस्तान्तरण गर्न सकिन्छ । आखिर, माटो त हाम्रो पहिचान हो ।” उनीहरूले बनाएका माटाका भाँडा सधैँ एकनास बिक्दैनन् ।
तिहार र छठ पर्व नजिकिँदै गर्दा नेपालगन्जका विभिन्न चोकमा सडकका पेटीमा राखेर बिक्री गरे पनि अन्य दिन घरमै राख्ने गरेको गुनासो गर्छन् । नेपालगन्ज १३ का पप्पु कसगरले विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढेपछि माटोको पाला पहिलेको जस्तो बिक्री हुन छाडेको बताउँछन् ।
भनेको जस्तो माटो फाइँदैन । उनले भने, ‘‘माटो खोज्न धेरै टाढा जानुपर्छ, मेहनत धेरै छ तर, यही पेसाले पेट पाल्न पनि गाह्रो छ ।’’ तिहार र छठमा यसैमा बढी समय दिए पनि अन्य समयमा इट्टा भट्टालगायतमा मजदुरी गर्दै आएको पप्पुले बताए ।