Butwal Today

‘एक्टिंग स्टार’ को फाइनल आज — नेपालगञ्जी नबिना उपाधि नजिक

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

नेपालगन्ज, २९ असोज ।

टेलिभिजन च्यानल एपिवनबाट प्रसारण हुँदै आएको चर्चित रियालिटी सो ‘एक्टिंग स्टार’ आज (बुधबार) ग्रान्ड फाइनल हुँदै छ । यो फाइनलमा नेपालगन्जकी प्रतिभाशाली चेली नबिना रानाभाट उत्कृष्ट पाँचमध्ये स्थान बनाउन सफल भएकी छिन् ।

चार सयभन्दा बढी प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले आफ्नो अभिनयको जादुले दर्शक र निर्णायक दुवैको मन जितेकी छन् । गहिरो भाव, स्वाभाविक अभिनय र सशक्त अभिव्यक्तिले दर्शकको मन छोएकी नबिनाले अब उपाधिको अन्तिम दौडमा पुगेर आफ्ना समर्थकहरूलाई भोटिङमार्फत साथ दिन आग्रह गरेकी छिन् ।

उनले भनिन् — “यो मेरो सपना मात्रै होइन, बाँकेलगायत पश्चिम नेपालको गर्व हो । तपाईँहरूले एक–एक भोट गरेर मेरो सपना साकार पारिदिनुहोस् ।” नबिना निरन्तर उत्कृष्ट प्रस्तुति दिँदै आइरहेकी छन् ।

निर्णायकहरू उनका अभिनयका पक्का प्रशंसक बनेका छन् भने दर्शकहरू उनको सरल स्वभाव र मौलिक संवाद शैलीबाट प्रभावित छन् । कलाकारितालाई जीवनको अभिन्न हिस्सा बनाउने सङ्कल्प गर्दै उनले अब यही यात्रालाई नयाँ उचाइमा पु¥याउने लक्ष्य राखेकी छिन् ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम बहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनालाई अहिले बाँके र आसपासका जिल्लामा ‘हाम्रो छोरी, हाम्रो गर्व’ भनेर समर्थनको लहर चलिरहेको छ ।

स्थानीय युवा, सङ्घसंस्था र कलाकारहरूले उनलाई फाइनलमा जिताउन भोटको अपिल गरिरहेका छन् । बुधबार दिउँसो १२ बजेसम्म भोट गर्न सकिने नबिनाका बुवा भीम बहादुर रानाभाटले जानकारी दिए । उनले भने, “नबिनाले देखाएको मेहनत, सङ्घर्ष र प्रतिबद्धता साँच्चै प्रेरणादायी छ । अब उनको  यो मेहनत उपाधिसम्म पु¥याउन सबैको साथ जरुरी छ ।”

नेपालगन्जका बासिन्दादेखि सम्पूर्ण पश्चिम नेपालका दर्शकहरू अहिले उत्साहित छन् । सबैको चाहना एउटै छ । “एक्टिंग स्टार”को उपाधि यसपालि नेपालगन्जकी छोरी नबिना रानाभाटको नाममा लेखियोस् ।