© 2026
समाचार सारांशमा
समूहले २५ कट्ठा जमिन भाडामा लिएर सामूहिक रूपमा खेती गर्दै आएको छ ।
कृषि ज्ञान केन्द्र, दाङले समूहका २० सदस्यलाई रु. २०,००० का दरले बीउ पुँजी सहयोग गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, दाङले बङ्गुर पालनका लागि खोर निर्माणमा रु. १० लाख बजेट सहयोग गरेको छ ।
दाङ, २८ असोज ।
घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर राम्रो आम्दानी गरेका छन् । बसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो ।
उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन् । समूहमा २० जनाको सङ्ख्या छ सबै जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् ।
उनले भनिन् ‘सोही वडामा २५ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याज र तरकारी खेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर तरकारी खेती गरेका छौँ,’ । समूहका सबै जना पालैपालो काम गर्छौ खेतीपाती गर्न सजिलो भएको छ ।
कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ । सबै जना सोही कार्यालयले २० जनालाई रु. २० हजारका दरले बीउ पुँजी सहयोग गरेको उनले बताइन् ।
समूहमा आबद्ध भएपछि सरकारी कार्यालय र अन्य कार्यालयमा के के कार्यक्रम आउँछन्, त्यसका बारेमा जानकारी हुने गरेको र अनुदानका लागि फम भर्ने गरेको उनले बताइन् ।
समूहका अध्यक्ष देउकुमारी चौधरीले आफ्नो र भाडामा ल्याएको जमिनमा सामूहिक खेती गरेको बताइन् । घरको जमिनमा गरेको खेती घर खर्च चलाउने गरेको र सामूहिक खेती गरेको आम्दानी समूहमा राख्ने गरेको बताइन् ।
गत वर्ष सामूहिक खेती गरेको धान बिक्री गरेर ६० हजार, आलु बिक्रीबाट २० हजार, ब्रोकाउली बिक्रीबाट १२ हजार १ सय ५०, तरकारीका बेर्ना बिक्रीबाट ८ हजार ३ सय, काउली बिक्रीबाट ४ हजार ५ सय, प्याजको बेर्ना बिक्रीबाट ३ हजार, गहुँ बिक्रीबाट १२ हजार रुपैयाँ आम्दानी भएको उनले बताइन् ।
समूहमा काम गर्न थाले पछि एक लाख १९ हजार नौ सय ५० रुपैयाँ आम्दानी भैसकेको छ उनले भनिन् । १५ क्विन्टल प्याज बिक्री भइरहेको छ । सामूहिक खेती गर्न धेरै सजिलो भएको छ समयमा खेताला नपाइने र जनशक्ति कम भएका बेला सामूहिक खेतीले सहज भएको उनको भनाइ छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले बङ्गुर पालनका लागि खोर बनाउन १० लाख बजेट सहयोग गरेको उनले बताइन् ।
अध्यक्ष चौधरीले समूहका सबै सदस्यले वित्तीय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउने गरेको बताइन् । पैसा बचत गर्न र फजुल खर्च कम गर्न थालेपछि बचत हुँदो रैछ ।
उनले भनिन्, ‘सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।’
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका सूचना अधिकारी कृष्ण न्यौपानेले लक्षित वर्गका लागि आएको बजेट महिला समूहलाई दिएको बताए ।
महिलाहरू समूहमा आबद्ध भएर आयआर्जन गर्न थालेको जानकारी दिए । कार्यालयले आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले सहयोग गरेको बताए ।