Butwal Today

लागु औषध सहित ३ जना पक्राउ

२७ आश्विन २०८२, सोमबार
अ+
अ-

लमही , २७ असोज ।

दाङ प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१२ हापुर खोला नजिक सडकबाट अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार असनिश्चवार दिउँसो करिब ४ बजेतिर प्रहरी निरीक्षक मानबहादुर थारुको कमान्डमा खटिएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका २४ वर्षीय पियुस जि.सीले चलाएको रा.७ प. ४२८२ नं. को मोटरसाइकल र सोही मोटरसाइकलमा पछाडि सवार तुलसीपुर–६ का २० वर्षीय एलिक्स के.सी.लाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।

तिनीहरूको साथमा रहेको झोलामा खोज तलासी गर्दा Tramadol HCL Capsules IP 50 mg लेखिएको ४० पत्ता (४०० क्याप्सुल) फेला परेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा सोधपुछ गर्दा उक्त लागु औषध घोराही उपमहानगरपालिका–९ निवासी हाल बुद्धीग्यारेज बसोबास गर्दै आएका ५३ वर्षीय खुमबहादुर खत्रीबाट खरिद गरेको बताएका थिए ।

यसपछि प्रहरी निरीक्षक सोम घर्तिमगरको कमान्डमा अर्को टोली खटाई खोज तलासी गर्ने क्रममा साँझ करिब ५ बजेतिर घोराही–१५ नवज्योति टोलस्थित सडकमा खुमबहादुर खत्रीलाई रा.२ प. ५०७८ नं. को मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनको मोटरसाइकलको लेगगार्डमा झुन्ड्याएको झोलामा Tramadol HCL Capsules IP 50 mg लेखिएको ५६ पत्ता (५६० क्याप्सुल) फेला पारिएको र उनको घरको कोठामा गरिएको तलासीमा ४८ पत्ता (४८० क्याप्सुल) थप बरामद भएको छ ।

यसरी तीनै जनाबाट जम्मा १४ सय ४० क्याप्सुल Tramadol HCL सहित दुई वटा मोटरसाइकल बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका तीन जनालाई लागु औषध (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको सूचना  अधिकारी प्रहरी  सहायक निरक्षर  चक्र  बहादुर साहले बताए ।