© २०२३
नेपालगन्ज, २६ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको बताएका छन् ।
नेपालगन्जमा आइतबार विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै उनले पछिल्ला केही महिनामा विश्वविद्यालयले देखाएको प्रगति र सुधारले आशाको किरण जगाएको उल्लेख गरे ।
उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न अब सबै पक्षबाट साझा प्रयासको आवश्यकता औँल्याए । मुख्यमन्त्री आचार्यले भने, “पछिल्ला ६–७ महिनाको मेहनतले राम्रो परिणाम देखाएको छ ।
अब विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्छ। प्रचार–प्रसारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता छ । विश्वविद्यालयलाई जनस्तरसम्म पु¥याउन सबैले मिलेर काम गर्नुपर्छ ।”
उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सङ्गम स्थलमा रहेको उल्लेख गर्दै यसले तीनै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने ठुलो सम्भावना रहेको बताए ।
उनले थपे, “यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ । सरकारको तर्फबाट आवश्यक सहयोग र साथ रहनेछ ।”
कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीबिच विश्वास कायम गर्दै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
सातौँ सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक प्रस्तावहरूमा विस्तृत छलफल गरिएको थियो । सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२/०८३ को बजेट स्वीकृत गरेको छ ।
साथै, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक–कर्मचारी सेवा विनियम संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, तथा कृषि, वन र पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तावहरू समावेश गरिएको थियो ।
सभामा सहभागी वक्ताहरूले विश्वविद्यालयको निरन्तर सुधार र प्राविधिक शिक्षामा गुणस्तर वृद्धि गर्न सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए ।