© २०२३
रोल्पा, १ पुस ।
रोल्पामा एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का अमरवहादुर डाँगी रहेको जिल्लाप्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
२०५० असोज ३१ गते राति ९ वजेको समयमा साविक गैरीगाउँ गाविस वडा नं. ९ राम्ली धुलसी बोट खोलामा सोही ठाउँ बस्ने अमरसिंह झाँक्री र अमरवहादुर डाँगीबीच राजनीतिक विषयमा विवाद भएको थियो । विवाद झै झगडामा रुपान्तरण भई सो विषयमा रिसिईवी बढ्दै जाँदा अमरवहादुर डाँगी समेतका व्यक्तिहरुले अमरबहादुर झाँक्रीलाई ढुंगा, लाठी, छुरी र भाला समेतले आक्रमण गरी निर्मम तरिकाले हत्या गरी फरार रहेको प्रहरीको भनाई छ ।
उक्त मुद्धाको रोल्पा जिल्ला अदालतले २०७० वैशाख ३१ गते फैसला गरेको थियो । फैसलामा अमरवहादुर डाँगीलाई सर्वश्व सहित जन्मकैदको सजायँ तोकिएको थियो । अदालतको फैसलापछि अभियुक्त फरार रहेकाले फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा उनलाई मंसिर २८ गते दिउँसो १२ वजे रुन्टीगढी गाउँपालिका वडा नं. ६ डुव्रिङमा फेला पारी पक्राउ गरेको थियो ।
पक्राउ डाँगीलाई मंसिर २९ गते रोल्पा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले लागेको कैद, सजायँ भुक्तानका लागि जिल्ला कारागार कार्यालय रोल्पाको थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।