© २०२३
लमही, २४ असोज ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आर्थिक वर्षदेखि जलन उपचार सेवा सञ्चालन गर्ने तयारी थालेको छ । यसका लागि प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र किर्तिपुर जलन अस्पतालसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।
यसअघि प्रतिष्ठानले मुटु उपचार सेवाको क्षमता विकासका लागि सहिद गङ्गालाल मुटु रोग अस्पतालसँग सहकार्य गर्दै नर्सिङ र रेडियोलोजी विभागका जनशक्ति तालिमका लागि पठाइसकेको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्साल र निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थिले त्रि.वि. शिक्षण अस्पताल र किर्तिपुर जलन अस्पतालसँग सहकार्य गर्ने सहमति गरेका हुन् । उक्त सहमतिअनुसार अब प्रतिष्ठानका चिकित्सक, नर्स, प्राविधिक, कर्मचारी तथा विद्यार्थीहरू तालिमका लागि ती अस्पतालमा जान सक्नेछन् । साथै, दुबै संस्थाबीच जनशक्ति आदान–प्रदान पनि गर्न सकिने व्यवस्था गरिएको छ ।
काठमाडौंमा सम्पन्न सहमतिपत्रमा त्रि.वि.का डीन प्रा. डा. मोहनराज शर्मा र किर्तिपुर जलन अस्पतालका वरिष्ठ कन्सल्टेन्ट प्रा. डा. शंकरमान राई उपस्थित थिए । सम्झौतामा विद्यार्थी तालिम, एमडी/एमएस चिकित्सक प्रशिक्षण, स्वास्थ्य अनुसन्धान, प्राविधिक सहयोग तथा दक्ष जनशक्ति विकासका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
रजिस्ट्रार प्रा. लम्सालका अनुसार प्रतिष्ठानमा जलन उपचार सेवा सञ्चालनका लागि आवश्यक पूर्वतयारी थालिएको छ । उनले भने, “आगामी आर्थिक वर्षदेखि जलन उपचार सुरु गर्ने योजना अनुसार प्रतिष्ठानका चिकित्सक र नर्सहरूलाई किर्तिपुर जलन अस्पतालमा तालिमका लागि पठाइनेछ ।”
निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थिले भने सहकार्यले दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार, “दुवै स्वास्थ्य संस्थाबीचको सहकार्यले प्रदेशमै विशेषज्ञ सेवा विस्तार र गुणस्तरीय उपचार प्रणाली विकासमा नयाँ अध्याय सुरु हुनेछ ।”