© २०२३
सल्यान, २४ असोज ।
सल्यानको एक सामुदायिक विद्यालयले आत्मनिर्भर बन्नका लागि आफ्नो कोषमा ५० लाख बढी जम्मा गरेको छ ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरस्थित निराजन माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको निराजन मावि आत्मनिर्भर अभियान अन्तर्गत हालसम्म ५० लाख चार हजार २६३ रुपैयाँ विद्यालयको कोषमा जम्मा भएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक धर्मराज घर्ती मगरको नेतृत्वमा सञ्चालित सो अभियानले विद्यालयलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । अभियानमा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीयवासी र शुभेच्छुकहरू सबैको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ ।
प्रअ घर्तीका अनुसार २०७८ साल असोज ४ गतेदेखि सुरु गरिएको अभियान अन्तर्गत विद्यालयमा प्राप्त हुने विभिन्न भत्ता, सहयोग र व्यक्तिगत योगदान रकमलाई कोषमा जम्मा गरिएको हो ।
उनले २०८१ साल मङ्सिर २३ गतेदेखि मेरो एक दिनको खाजा निराजन माविलाई भन्ने अर्को अभियान पनि सुरु गरिएको जानकारी दिए ।
यस वर्षको दसैँसम्म आधा करोड रुपैयाँ जम्मा गर्ने योजनासाथ विद्यालय परिवार अघि बढेकोमा त्यो लक्ष्य बिहीबार पूरा भएको हो ।
प्रअ बुढाले भने, ‘विद्यालयको नगद सम्पत्तिको रूपमा जम्मा भएको छ । यो अभियान मेरो एक मुठ्ठी श्वास रहुन्जेल चलिरहनेछ । मेरो सम्पत्ति र कमाइ यही अभियान हो ।’
अभियानबाट सङ्कलित रकमको मूल धन कहिल्यै खर्च नगरिने र प्राप्त ब्याजबाट मात्र विद्यालयको शैक्षिक सुधार तथा छात्रवृत्तिमा प्रयोग गरिने उनले जानकारी दिए ।
सानो खर्चको कटौतीले नेपालकै एउटा नमुना विद्यालय बन्न सक्छ भने उक्त सानो त्यागका लागि उनले अरूलाइ पनि अनुरोध गरेका छन् । विद्यालयले अभियानलाई आगामी दिनमा निरन्तरता दिँदै नेपालकै नमूना विद्यालय बनाउने लक्ष्य लिएको जनाएको छ ।