Butwal Today

जेनजी आन्दोलनको मौका पारेर भागेका १४१ कैदी अझै बेपत्ता

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-
कपिलवस्तु, २४ असोज । 
जेनजी  आन्दोलनको मौका पारि कपिलवस्तु कारागारबाट फरार भएका १ सय ४१ कैदी र थुनुवाहरू नियन्त्रणमा आएका छैनन् ।
कपिलवस्तु कारागारबाट फरार भएका ४ सय ३० जना कैदी मध्य हालसम्म १ सय ४१ कैदी पक्राउ पर्न नसकेका हुन । अहिले जिल्लामा कारागारबाट फरार भएका २ सय ८९ कैदी र थुनुवा पक्राउ तथा सम्पर्कमा आएका छन् ।
जसमा प्रहरीले १ सय १६ जनालाई नियन्त्रणमा लिएर कारागार पठाएको छ भने १ सय ७३ कैदी आफै प्रहरीको सम्पर्कमा आएका छन् । गत भदौ २५ बिहान करिब ७ बजेको समयमा कपिलवस्तु कारागारको दुवै ब्लकमा रहेका ४ सय ५९ जना कैदी र थुनुवा फरार भएका थिए ।
थोरै सजाय रहेका र खटनपटन हेर्दै आएका २९ जना कारागारमै बसे पनि घटनामा ४ सय ३० जना कैदी र थुनुवा फरार भएका थिए । फरार भएका कैदीमा १३ जना भारतीय नागरिक समेत थिए, जस मध्य हालसम्म १ जना मात्रै पक्राउ परेका छन् ।
हालै गृह मन्त्रालयले असोज २० गते सम्म फरार कैदीलाई फिर्ता हुन गरेको सूचनाका आधारमा कपिलवस्तुमा २५ जना कैदी प्रहरीको सम्पर्कमा आएका थिए ।
कपिलवस्तु प्रहरीले देशका अन्य कारागारबाट फरार भएका ३० जना कैदीलाई नियन्त्रणमा लिएको छ । जसमा १७ जनालाई सम्बन्धित कारागारमा पठाइएको छ भने १३ जना कैदीलाई ती कारागारमा पठाउन बाँकी रहेको छ ।
गृह मन्त्रालयले फरार कैदीलाई आफै सम्पर्कमा आउन गरेको सूचनालाई अटेरी गरि फरार रहेका कैदीलाई नियन्त्रणमा लिन कपिलवस्तु प्रहरीले विशेष टोली परिचालन गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?