© २०२३
सल्यान, २३ असोज ।
सल्यानमा बिहीबार दिउँसो विवाहको जन्ती हिँडेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
दिउँसो करिब सवा तीन बजेतिर शारदा नगरपालिका, ९ ज्वालापुरमा भागाचौरदेखि थापाचौर तर्फ जन्ती लिएर जाँदै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेहरूमा शारदा, १० निवासी ६० वर्षीया गुमी कुँवर र १४ वर्षीय शोभा कुँवर रहेका छन् ।
अन्य घाइतेहरूमा शारदा, १० कै १४ वर्षीया हरिकला कुँवर, २० वर्षीया कमला गिरी, १८ वर्षीया प्रवीण कुँवर, १४ वर्षीय रेणुका कुँवर, १७ वर्यिाय हेमराज कुँवर, २६ वर्षीय कुमारी बुढाथोकी, शारदा, ९ निवासी ४२ वर्षीया प्रमिला गिरी, २४ वर्षीय चेतराम गिरी, १५ वर्षीय विमला गिरी र ३३ वर्षीय रुपलाल गिरी रहेको प्रहरीले जनाएको छ ।
जिप आफै अनियन्त्रित भएर सडकदेखि करिब दुई सय मिटर तल खसेको छ । घाइतेहरूको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे स्थानीयले प्रहरीलाई जनाकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.उ. डा. हेम बहादुर के.सी.को कमान्डमा ट्राफिक सहित ११ जनाको प्रहरी टोली खटिएको थियो । यो समाचार तयार गर्दासम्म गाडी चालक बनगाड कुपिण्डे नगरपालिका, १२ का हरि बहादुर बुढा फरार छन् ।