© २०२३
काभ्रेपलान्चोक, २० असोज ।
असोज १८ र १९ गतेको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सिन्धुलीको नेपाल थोकबाट पनि सुरु गरिएको छ ।
नेपाल थोकतर्फबाट डाइभर्सन निर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लाल ध्वज सुवेदीले जानकारी दिए ।
सडक डिभिजन कार्यालय खाल्डाले नेपाल थोकतर्फबाट बिपी राजमार्गको बगेको डाइभर्सन पुनर्निर्माणको काम अघि बढाएको हो । कार्यालयका सूचना अधिकारी सुदर्शन उप्रेतीका अनुसार हाल दुई वटा एक्स्काभेटर प्रयोग गरी डाइभर्सनका लागि खोलाको बहाव मोड्ने काम भइरहेको छ ।
यसअघि सडक डिभिजन कार्यालय भक्तपुरले पनि नमो बुद्ध र रोशी गाउँपालिकाको सिमाना स्थल चौकी डाँडाबाट डाइभर्सन बनाउने कार्य सुरु गरिसकेको छ ।
बिपी राजमार्गको नेपाल थोक हुँदै काठमाडौँ जाने बाटो रोशी खोलाले कटान गरेपछि वैकल्पिक रूपमा सवारी साधनहरू खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौंडा मार्ग प्रयोग गरेर काठमाडौँ गइरहेका छन् ।