Butwal Today

कान्ति लोकपथ बाहेक हेटौँडाबाट काठमाडौँ जाने अधिकांश सडक सञ्चालनमा

२० आश्विन २०८२, सोमबार
अ+
अ-

हेटौँडा, २० असोज ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौँ जाने अधिकांश सडक खुला भएका छन् । वर्षा र बाढीका कारण रोकिएका यातायात पुनः सुचारु भएको छ । हाल कान्ति लोकपथ बाहेक सबै प्रमुख सडकमार्ग सञ्चालनमा रहेका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक र त्रिभुवन राजपथ बिहानैदेखि खुलेका छन् भने हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ सडकमा दिउँसो १२ बजेदेखि सवारी आवागमन सुरु भएको छ ।

यसअघि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ डोढारेमा आएको बाढीले सडक असोज १८ देखि बन्द थियो । हाल मर्मतपश्चात् सिस्नेरी मार्ग पनि खुला भई हेटौँडाबाट काठमाडौँसम्म यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सवारी चाप व्यवस्थापनका लागि काठमाडौँतर्फ जाने गाडीलाई सिस्नेरी–दक्षिणकाली मार्ग, र हेटौँडातर्फ फर्कने गाडीलाई फाखेल–कुलेखानी मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

तर कान्ति लोकपथमा चार स्थानमा पहिरो पन्छाउन बाँकी भएकाले यातायात अझै सञ्चालन हुन सकेको छैन ।

यस्तै, हेटौँडाबाट काठमाडौँ जाने नारायणगढ मार्ग पनि खुला भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?