© २०२३
भैरहवा, २० असोज ।
अविरल वर्षाका कारण रूपन्देहीको भैरहवा र आसपासका क्षेत्रमा अलपत्र परेका यात्रुहरूलाई चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत उद्धार उडान सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठका अनुसार भैरहवामा दुई दिनदेखि फसेका यात्रुहरूलाई आजै काठमाडौं ल्याइने तयारी भइरहेको छ ।
नेपाल वायुसेवा निगमले पनि विज्ञप्ति जारी गर्दै सरकारको विशेष निर्देशनबमोजिम उद्धार उडान सञ्चालन गर्न लागिएको पुष्टि गरेको छ । निगमका अनुसार ‘आरए–१७३१’ उडान दिउँसो १ बजे काठमाडौंबाट भैरहवा जानेछ, र ‘आरए–१७३२’ उडानमार्फत दिउँसो २ः४५ बजे भैरहवाबाट यात्रु लिएर काठमाडौं फर्किनेछ ।
भाडा दर निगमले काठमाडौंबाट भैरहवा जानेका लागि ५ हजार रुपैयाँ र भैरहवाबाट काठमाडौं आउनेका लागि ७ हजार रुपैयाँ तोकेको छ ।
उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी र अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले जनाएको छ । यात्रुले अनलाइन प्रणाली, निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
निगमका अधिकारीहरूका अनुसार, आवश्यक परेमा उद्धार उडान थप गर्ने विषयमा पनि सरकारसँग समन्वय भइरहेको छ ।