© २०२३
सल्यान, २० असोज ।
जिल्ला प्रशासन कार्यालयले सोमबार (आज) बाट जिल्लाका सबै कार्यालय सञ्चालनका लागि अनुरोध गरेपनी फेरि अर्को सुचना जारी गरेर उक्त अनुरोध निष्प्रभावी भएको जनाएको छ ।
कर्णाली प्रदेश सरकारले कोजाग्रत पुर्णिमाको अवसरमा प्रदेशभरीका सरकारी कार्यालयमा लागू हुनेगरी सार्वजनिक बिदा दिएकाले आजबाट खुल्ने भनिएका कार्यालयहरु अब भोलि मंगलबारबाट मात्र सेवा प्रवाह हुनेभएको हो ।
यस अघि जिल्लामा मनसुनको प्रभाव नरहेको र आगामी दिनमा समेत उल्लेखनीय असर पर्ने सम्भावना नदेखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सोमबारदेखी पूर्णरूपमा कार्यालय सञ्चालन गर्न अनुरोध गरेको थियो ।
कर्णाली प्रदेशको बिदाको सन्दर्भमा अन्यौलता बढेपछी प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले आइतबार साँझ नै फेरि अर्को सुचना जारी गर्दै कोजाग्रत पूर्णिमा असोज २० गते कर्णाली प्रदेशबाट बिदा भएको जानकारीमा आएको हुँदा आजदेखी कार्यालय खुला राखी सेवा सुचारु गर्न गरिएको अनुरोध निष्प्रभावी भएको जानकारी दिए । उनले भने, ‘कार्यालयको आन्तरिक कार्य आजबाटै र सेवा प्रवाह भने भोलि मंगलबारबाट सुचारु हुनेछ ।’